एम्बुलेन्स चालकद्वारा चिकित्सक माथि कुटपिट

  ०७९ साउन ३ गते

इन्द्रवती गाउपालिका–४ स्थित नवलपुर प्राथमिक अस्पतालका डाक्टर ३५ वर्षीय धर्मेन्द्र पाण्डेलाई ०७९ साउन २ गते दिउँसो अस्पतालमा बिरामी जाँच गरिरहेकै अवस्थामा सोही अस्पतालका एम्बुलेन्स चालक ३० वर्षीय सुनबहादुर रानामगरले करार म्याद थप नगरेको आरोपमा कुटपिट गरेका छन् ।

कन्चट, गाला तथा शरीरको अन्य भागमा चोट लाग्ने गरी रानामगरले कुटपिट गरेको पीडित डाक्टर पाण्डेले बताउनु भयो ।

पीडित डाक्टरले ०७९ साउन २ गते ईलाका प्रहरी कार्यालय नवलपुरमा आरोपित रानामगरविरुद्ध उजुरी दिएको इलाका प्रहरी कार्यालय नवलपुरका इन्स्पेक्टर इन्द्रप्रसाद इटनीले बताउनु भयो ।

आरोपित फरार भएकाले खोजीकार्य भइरहेको इन्स्पेक्टर इटनीले बताउनु भयो ।

इन्द्रवती गाउँ कार्यपालिकाले ०७९ साउन १ गतेदेखि लागु हुने गरी आरोपित एम्बुलेन्स चालक सहित १४ जना करारका कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय गरेको थियो ।

यसैबीच, स्वास्थ्यकर्मी माथि भएको आक्रमणको विरोधमा ०७९ साउन ३ गते बिहानदेखि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले अनिश्चितकालका इमेरजेन्सी सेवा बाहेक अन्य सेवा बन्द गराएका छन् ।

अस्पतालले साउन ३ गते बिहान एक विज्ञप्ति जारी गर्दै डाक्टर धर्मेन्द्र पाण्डेलाई उहाँकै बिरामी जाँच्ने कक्षभित्र गएर अस्पतालका पूर्व एम्बुलेन्स चालकले अभद्र ब्यवहार, गाली गलौज तथा कुटपिट गरेकोले घटनाको छाबिन र दोषीलाई कारबाही नहुन्जेलसम्मको लागि अस्पतालबाट प्रवाह हुने आकस्मीक सेवा बाहेकका सबै सेवा अनिश्चितकालसम्म बन्द रहने जानकारी गराइएको छ ।


नातिबावु धिताल