एमाले वरिष्ठ नेता नेपाल चढेको गाडीमा तोडफोड

नेकपमा एमालेका वरिष्ठ नेता माधव नेपाल चढेको गाडीमा साउन ७ गते राति तोडफोड भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले उनको स्मृतिमा पुष्पलालको जन्मस्थल रामेछाप बजारमा आयोजना गरेको कार्यक्रममा भाग लिन ७ गते साँझ रामेछाप पुगेका नेपाल चढेको बा ५ प २७५० नं को प्राइभेट गाडी पार्किङ गरेर राखेको अवस्थामा रामेछाप नगरपालिकाको रामेछाप बजारमा तोडफोड गरिएको हो ।

रामेछाप बजारको तामाकोसी गेष्ट हाउसमा बसेका नेपाल चढेको गाडी गेष्ट हाउस नजिकै सार्वजिनक स्थलमा पार्किङ गरिराखिएको थियो ।

बिहान राखिएकै स्थानमा उनी चढेको गाडीको सिसा फुटेको अवस्थामा भेटिएको हो । घटना रातको ९ बजेपछि भएको अनुमान गरिएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा रामेछाप बजारका काङ्ग्रेस कार्यकर्ताहरू सागरकुमार श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन् ।

नेपाली काङ्ग्रेस नगर समितिले भने आफ्ना कार्यकर्ताहरू निर्दोष भएको भन्दै उनीहरूलाई गिरफ्तार गरेकोमा पत्रकार सम्मेलन गरी आपत्ति जनाएको छ । रामेछापका प्रहरी प्रमुख कुमुद ढुङ्गेलले भने घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।


नवराज पथिक