एमाले र कांग्रेसका कार्यकर्ताहरुबिच झडप

  ०७९ वैशाख २७ गते

घिरिङ गाउँपालिका–३ मा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबिच वैशाख २७ गते झडप भइ उनीहरुबिच गाउँपालिका कार्यालय परिसरमा ढुङ्गा हानाहान भएको छ ।

घिरिङ गाउँपालिका–१ मा वैशाख २६ गते नेपाली कांग्रेसले चुनावी सभामा लगेका वडा नम्बर ५ धेनुङका १३ वर्षीया बालक इश्वर परियारलाई सभास्थल नजिकै कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता बनाएको विषयमा एमाले र कांग्रेसका कार्यकर्ताबिच झडप भएको हो ।

एमालेले निर्वाचन आचारसंहिता विपरित कांग्रेसले बालबालिकालाई चुनावी सभामा लगेको कारण ती बालक नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएको भन्दै कांग्रेसले उक्त घटनामा माफी माग्नुपर्ने र निर्वाचन आचारसंहिताको उल्लंघन गरेकोमा कांग्रेसका उम्मेदवारलाई कारवाही गर्नुपर्ने माग गरेको विषयमा दुई पार्टी का कार्यकर्ताबिच भनाभन हुँदा झडपको वातावरण बनेको थियो ।

भनाभनकै क्रममा एमालेका कार्यकर्ता भुवन विकले नेपाली कांग्रेस घिरिङ गाउँ कार्यसमितिका सभापती यामबहादुर थापालाई दुर्व्यवहार गरेपछि कांग्रेस कार्यकर्ताले पनि प्रतिकार गरेको कांग्रेसका सभापति थापाले बताउनुभयो ।

तर उक्त घटनामा कोही पनि घाईते भने भएका छैनन् । झडपको क्रममा कांग्रेस कार्यकर्ताले हानेको ढुङगाले एमाले कार्यकर्ताको ग २ च १८०५ नम्बरको कारको सिसामा क्षति भएको प्रहरी चौकी घिरिङका असई राजकुमार विकले बताउनुभयो ।

आफ्नी हजुरआमा नेपाली कांग्रेसबाट वडा नम्बर ५ को दलित महिला सदस्यमा उम्मेदवार बनेको कारण ति बालक हजुरआमाको साथमा चुनावी सभामा गएको कांग्रेस सभापती थापाले बताउनुभयो ।

नदीमा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

नेपाली कांग्रेस तनहुँले वैशाख २७ गते विज्ञप्ति प्रकाशन गरी आफ्ना कार्यकर्ताहरुलाई नेकपा एमालेका कार्यकर्ताहरुले कुटपिट गरेको भन्दै कारवाहीको माग गरेको छ ।

नेपाली कांग्रेस तनहुँका सभापती जितप्रकाश आलेले प्रकाशित गरेको विज्ञप्तिमा यस्ता घटनाले निर्वाचनको निश्पक्षतामाथि प्रश्न उठाउने भन्दै दोषीलाई कारवाही गर्न माग गर्नुभएको छ ।


प्रकाशचन्द्र भट्टराई