एमाले कार्यकर्तामाथि माओवादी कार्यकर्ताद्धारा गोली प्रहार

  ०७४ वैशाख २९ गते

भोजपुर नगरपालिका-१ हेलौछामा माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि गोली प्रहार भएको छ ।

वैशाख २८ गते साँझ एमाले कार्यकर्ता ३४ वर्षीया शारदा तामाङलाई नेकपा माओवादी केन्द्रका कार्यकर्ता ३८ वर्षीय एकिन्द्र भुजेलले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको जङ्गलमा हिँडिरहेकी एमाले कार्यकर्ता तामाङलाई माओवादी कार्यकर्ताले गोली प्रहार गरेका थिए । हतियारले ताकिरहेको देखेपछि तामाङ आत्तिएर लडेकी थिइन् ।

तामाङ आत्तिएर लडेपछि गोली नलागेको प्रत्यक्षदर्शीले बताएका छन् । गोली प्रहारबाट एमाले कार्यकर्ता तामाङको शरीर छेउबाट गोली गएकोले सामान्य छर्रा लगेको बताइएको छ ।

एमालेसम्बद्ध अनेमसङ्घ नगर कमिटिकी सचिव तामाङ र माओवादी कार्यकर्ता भुजेलबिच राजनीतिक विषयमा यसभन्दा अघिदेखि विवाद रहँदै आएको थियो ।

गोली प्रहार गर्ने माओवादी केन्द्रका कार्यकर्ता एकिन्द्र भुजेललाई प्रहरीले भरुवा बन्दुकसहित गिरफ्तार गरेको छ । गिरफ्तार भएका भुजेलमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी काजीकुमार आचार्यले बताए ।

एमालेले आफ्ना कार्यकर्तामाथि गोली प्रहार भएको घटनाप्रति भत्सर्ना गरेको छ । नेकपा एमालेका सचिव शरणकुमार राईले आफ्नो कार्यकर्तामाथि नियोजित रूपमा गोली प्रहार भएको भन्दै दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।


किरण राई