एमाले कार्यकर्ताको कुटपिटबाट ६ जना घाइते

  ०७९ जेठ ६ गते

वीरगञ्ज महानगरपालिका वडा नं‍. २७ मा एमालेका कार्यकर्ताको कुटपिटबाट ६ जना घाइते भएका छन् ।

कुटपिटबाट स्थानीय ५८ वर्षीया नेमा रेशा, ३० वर्षीया आइसा भनिने मुन्नी खातुन, ४० वर्षीय मलिक नुनिया, १८ वर्षीय मोहमद नुराइन, ४२ वर्षीय मोहमद मियाँ र १९ वर्षीय जाहिर हवारी घाइते भएका हुन् ।

घाइतेमध्ये अधिकांशको टाउकोमा चोट लागेको छ । घाइते सबै जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चार जना उपचारपछि घर फर्किएका छन् भने महम्मद मियाँ र आयसा खातुनको नारायणी अस्पतालमै उपचार भइरहेको छ ।

०७४ को स्थानीय निर्वाचनमा वीरगंज महानगरपालिका–२७ मा नेकपा एमालेका प्रदीपकुमार यादव १ हजार १ सय ५ मत ल्याएर विजयी हुनु भएको थियो । ९ सय ८९ मत ल्याएर नेपाली कांग्रेसका हृदय नारायणप्रसाद कुर्मी पराजित हुनु भएको थियो ।

यसपटकको निर्वाचनमा प्रदिप भन्दा ४ सय ५ मत बढी ल्याएर हृदयनाारयण वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ । हृदयले १ हजार ५ सय ६ मत पाउँदा प्रदिपले १ हजार १ सय १६ मत पाउनु भएको थियो ।

हृदयले जितेको खुशीमा कांग्रेसले जेठ ५ गते राति नै विजयी जुलुस निकालेको थियो । विजयी र्‍यालीमा सहभागी भएकाहरुलाई पराजित यादव पक्षधरले कुटपिट गरेको सूचना प्रहरीमा आएको थियो । सूचना पाए लगत्तै प्रहरी टोलीले घटनालाई नियन्त्रणमा लिएको थियो ।

प्रदिप सहितका मानिसहरू आएर एमालेलाई भोट नहालेर कांग्रेसको विजयी र्‍यालीमा गएको भन्दै आफूहरू माथि कुटपिट भएको घाइतेहरूले बताएका छन् ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा निवर्तमान वडा अध्यक्ष ४५ वर्षीय प्रदिप यादवसहित ३३ वर्षीय नुर महमद र ३५ वर्षीय शर्मा प्रसाद कुशवाहालाई गिरफ्तार गरेको छ ।

घाइतेहरूले घटनामा निवर्तमान वडा अध्यक्ष प्रदिपको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएपछि सोधपुछका लागी ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।

‘राति विजयी र्‍यालीमा सहभागीलाई पराजित वडा अध्यक्ष सहितका मानिसले कुटपिट गरेको भन्ने खबर आयो, प्रहरी पठाएर स्थिति नियन्त्रणमा लियौँ ।’ उहाँले भन्नु भयो–‘कुटपिटबाट ६ जना घाइते भएका छन् । घाइतेहरूको भनाइको आधारमा उनीसहित तीन जनालाई नियन्त्रणमा लिएका हौँ । संलग्नता थियो, थिएन अनुसन्धान गरिरहेका छौँ ।’


कृष्णचन्द्र लामिछाने