एमाले उम्मेदवारका घरमा गोली प्रहार

खडाचक्र नपा-८ निवासी एमाले पार्टीका वडा अध्यक्ष उम्मेदवार ३६ वर्षीय आदिचन्द्र चौलागाईँको घरमा ०७४ वैशाख २२ गते राति अज्ञात व्यक्तिको समूहले गोली प्रहार गरेको एमाले कालीकोटले जनाएको छ ।

घटना सम्बन्धमा एमाले कालीकोटका अध्यक्ष नगेन्द्र शाहीले घोर निन्दा गर्दै तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न प्रशासनसमक्ष माग गरेका छन् ।

वाइसीएलका केन्द्रीय सदस्य तथा माओवादी केन्द्रका सोही वडाका अध्यक्ष गोगनबहादुर मल्लले वैशाख २२ गते साँझ ५ बजे चौलागाईँको घरमा गएर नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता आउन सक्छन भनी धम्की दिएको पीडितले बताए ।

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला जनसरकार प्रमुख मनिलाल ऐडीले भने-'हामीलाई बदनाम गराउने उद्देश्यले माओवादी केन्द्रका कार्यकर्ताले उक्त घटना घटाएका हुन् । यसमा हाम्रो संलग्नता छैन ।'

घटनाको जानकारी पाउनासाथ प्रमुख जिल्ला अधिकारी गिरीधारी सुवेदीले तत्काल सुरक्षा समितिको बैठक राखेर अनुसन्धानका लागि सशस्त्र प्रहरीसमेतको टोली पठाएको बताए ।

घरमा निशाना बनाई ६ वटा फाइरिङ् भएपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्र खड्काले बताए ।


कालीबहादुर मल्ल