एमालेको कार्यक्रमस्थल नजिक बम फेला

  ०७३ फागुन २३ गते

नेकपा (एमाले) को मेची-महाकाली राष्ट्रिय अभियानअन्तर्गत फागुन २३ गते आमसभाका लागि तय गरिएको बसविट्टी गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र नजिकै एउटा सकेट बम फेला परेको छ ।

Photo20170306Saptari

बम निष्कृय बनाउन श्री कृष्ण दल गणको बम डिस्पोजल टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर कार्कीले जानकारी दिए । नेकपा (एमाले) को मेची-महाकाली राष्ट्रिय अभियानअन्तर्गत फागुन २३ गतेका लागि तय आमसभालाई अवरोध गर्ने उद्देश्यले बन्द आह्वान गरिएकाले राजविराजसहित कञ्चनरूप, भारदह बजार क्षेत्रको जनजीवन प्रभावित भएको छ । एमालेको अभियानको विरोधमा चक्काजाम घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले फागुन २३ गते सप्तरी जिल्ला बन्द आह्वान गरेको छ । मोर्चाको बन्दका कारण सप्तरीमा मोटरसाइकलबाहेक लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् । मुख्य बजार र शिक्षण संस्थाहरूसमेत बन्द छन् ।

मोर्चाका नेता-कार्यकर्ताहरूले बिहानैदेखि राजविराज, भारदह, कञ्चनरूपमा टायर बालेर लाठी जुलुस प्रदर्शन गरेका छन् । स्थानीय प्रशासनले कुनै अप्रिय घटना हुन नदिन शान्ति सुरक्षा कडा पारेको जनाएको छ । अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले सप्तरीमा १ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरेको प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले जानकारी दिए ।

राजविराजमा हुने भनिएको कार्यक्रम एमालेले तीन किलोमिटर उत्तर बसविट्टी गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सारेको थियो । मोर्चाले राजविराजको औद्योगिक क्षेत्रमा गर्ने आमसभालाई समेत बिथोल्ने जनाउँदै मोर्चाका नेता-कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन् ।

सप्तरीको कञ्चनरूप, रूपनीबाट प्रहरीले पाँच-पाँच जना प्रदर्शनकारी गिरफ्तार गरेको रामसपाका केन्द्रीय सचिव गजेन्द्र मण्डलले जानकारी दिए । पूर्वपश्चिम राजमार्गस्थित सप्तरीको कञ्चनरूप खण्डमा यातायात बन्द गराउँदै हिँडेका मोर्चाका केही कार्यकर्तालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

पूर्वघोषित कार्यक्रममा अवरोध नगर्न एमालेले मोर्चालाई अपिल गरेको छ । लोकतन्त्रमा आ-आफ्नो विचार राख्न पाउने सबैलाई अधिकार भएको भन्दै एमालेले कुनै अप्रिय घटना भए त्यसको जिम्मा मधेसी मोर्चाले लिनु पर्ने बताएको छ । सप्तरीमा हुने कार्यक्रममा संयमतापूर्वक प्रस्तुत हुन आफ्ना कार्यकर्तालाई एमालेले आग्रहसमेत गरेको छ ।


मनोहरकुमार पोखरेल