एमालेका कार्यकर्ताद्वारा काङ्ग्रेसका कार्यकर्ता कुटिए

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पहिलो चरणमा हुन गइरहेको निर्वाचनमा एजेन्ट बस्ने कार्यकर्ताको एजेन्ट पत्र लिएर छार्काताँगसोग गाउँपालिकास्थित काककोटमा पुगेका काङ्ग्रेस कार्यकर्ता सुर्य टमटा र जीवन भण्डारीलाई नेकपा एमालेका कार्यकर्ताले मङ्सिर ६ गते साँझ कुटपिट गरेको आरोप छ ।

जिल्ला समन्वय समितिका संयोजकसमेत रहेका एमालेका शेरबहादुर बुढा र काइके गाउँपालिका अध्यक्ष अङ्गद रानाको नेतृत्वमा २०/३० जना एमाले कार्यकर्ताको समूहले काङ्ग्रेसका सुर्य टमटा र जीवन भण्डारीलाई आफ्नो नियन्त्रणमा लिई कुटपिट गरी रातभर रूखमा बाँधेर काङ्ग्रेस कार्यकर्ताले लगेको एजेन्ट पत्र च्यातिदिएको नेपाली काङ्ग्रेसका प्रतिनिधि सभाका उम्मेदवार अङ्गदकुमार बुढाले आरोप लगाए ।

एमाले कार्यकर्ताको कुटपिटबाट सुर्य टमटा सामान्य घाइते र जीवन भण्डारीको दाँया गोडामा गहिरो चोट लागेको बुढाले बताए । घाइते दुवैजनाको उपचार जिल्लास्थित डोल्पो अस्पतालमा भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले एमालेका जिम्मेवार कार्यकर्ताले निन्दनीय कार्य गरेको बताए । एमालेका कार्यकर्ताले काङ्ग्रेसका कार्यकर्तामाथि रूखमा झुण्ड्याएर कुटपिट गरिरहँदासमेत प्रहरी प्रशासन निरीह र रमिते बनेको काङ्ग्रेसका उम्मेदवार बुढाले आरोप लगाए ।

उपल्लो डोल्पामा शान्ति सुरक्षाको प्रत्याभूति नबनेकाले राम्रो सुरक्षा प्रबन्ध नभएसम्म काइके, छार्काताँगसोग र डोल्पो बुद्ध गाउँपालिका अन्तर्गतका सबै मतदान केन्द्रको चुनाव स्थगित गर्नुपर्ने माग आफूहरूले प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृतसमक्ष राखेको काङ्ग्रेसले जनाएको छ ।

माग पुरा नभए चुनाव बहिष्कार गर्ने नेपाली काङ्ग्रेसका पार्टी सभापति समेत रहेका प्रतिनिधि सभाका उम्मेदवार अङ्गदकुमार बुढाले बताए ।

प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले छार्काताँगसोग गाउँपालिका अन्तर्गतको काककोट सदरमुकामबाट टाढा भएकोले च्यातिएका एजेन्ट पत्रलाई सोही ठाउँमा रहेका काङ्ग्रेस कार्यकर्ता बस्न पाउने गरी वैकल्पिक व्यवस्थाका लागि पहल भइरहेको बताए । घटनामा संलग्न एमाले कार्यकर्तालाई गिरफ्तार गर्न सुरक्षाकर्मी पठाइएको प्रजिअ आचार्यको भनाई छ ।


विष्णुप्रसाद देवकोटा