एमालेका उम्मेदवार चढेको गाडी लक्षित विष्फोट

  ०७४ कात्तिक २८ गते

नेकपा एमालेका नेता एवम् संखुवासभाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार राजेन्द्र गौतम चढेको गाडीलाई लक्षित गरी एक अपरिचिति समूहले ०७४ कात्तिक २८ गते बिहान सभापोखरी गाउँपालिका-२ स्थित देउराली नजिकै सालघारीमा विष्फोट गराएको छ ।

एमाले जिल्ला कमिटी सचिव खड्ग राईका अनुसार नेता गौतम चढेको गाडी सालघारी पुगेलगत्तै विष्फोट भएको थियो । सचिव राईका अनुसार गौतमसँगै गाडीमा प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार इन्दिरा मिश्र (चेतना) र गठबन्धनका प्रदेशसभा तर्फसंखुवासभा क्षेत्र नं १ का प्रत्यक्ष उम्मेद्वार पूर्णप्रसाद राई लगायत जिल्लाका नेताहरू पनि रहेका थिए । उनीहरू सबै सकुशल छन् ।

विष्फोटबाट कुनै मानवीय क्षति नभएको तर एमालेका नेता तथा उम्मेदवार चढेको गाडीमा भने सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाका डिएसपी सन्तोष खड्काले बताए । नेकपा माओवादीका कार्यकर्ताको संलग्नता हुनसक्ने भन्दै घटनाको अनुसन्धान गरिरहेको उनले बताए ।


बाबुराम बास्तोला