एफएम रेडियोको टावर तोडफोड गर्नेमाथि कारबाहीको माग

खोटाङको दिक्तेलस्थित हलेसी एफएम रेडियोको टावर र जेनरेटरमा अज्ञात समूहले तोडफोड गरी भौतिक क्षति पुर्‍याएको विरोधमा सम्बन्धित सञ्चारगृह र नेपाल पत्रकार महासङ्घ खोटाङ्ले असोज १२ गते प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नको पहिचान गरी कारबाही गर्न माग गरेको छ ।

उक्त एफएमको मुढेमा रहेको टावरमा अपरिचित व्यक्तिहरूको समूहले असोज ११ गते टावर र जेनरेटरमा तोडफोड गर्दा १ लाख २५ हजार रुपियाँ बराबरको क्षति भएको एफएमका स्टेशन म्यानेजर उत्तम चौलागार्इंले बताए ।

टावरका प्राविधिक डिबी तामाङ पेट्रोल लिन दिक्तेल बजार गएको मौकामा भवनको झ्याल फुटाएर एफएमको जेनेरेटर तोडफोड गरेको तामाङले बताएका छन् ।

तोडफोडका कारण एफएमको दुई ओटा जेनरेटरको मोटर, फिल्टर, इन्धनको ट्याङ्की, तार लगायतमा क्षति पुगेको र दोषी पत्ता लगाई कारबाहीको मागसहित सम्बन्धित पक्षबाट निवेदन आएकोले अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दमन राईले भने-'खराब मानसिकता भएका व्यक्तिले आफ्नो कमजोरी ढाकछोपका नाममा सञ्चार माध्यममाथि आक्रमण गर्ने गरेको उल्लेख गर्दै यो घटनाले पत्रकारलाई त्रसित नभइ खराब प्रवृत्तिका विरुद्ध लड्न झनै दृढ बनाएको छ ।'


सुनिता मगर