एचआईभी संक्रमित भएको खुलेपछि विद्यार्थीलाई निष्कासन

मध्यनेपाल नगरपालिका– ४ स्थित भैरवकाली माध्यमिक विद्यालयले एचआईभी संक्रमित भएको खुलेपछि विद्यार्थीलाई निष्कासन गरेको छ ।

विद्यालयले वैशाख ६ मा विद्यालय भर्ना भएका एक विद्यार्थीलाई एचआईभी संक्रमित भन्दै निष्कासन गरेको हो ।  अभिभावकले स्थानीय बाल विकासमा पढाउँदै आएका बालिकालाई ५ वर्ष पुगेपछि भैरवकालीको एल.केजीमा भर्ना गरेका थिए ।

बालिकाको बुबाले बालिका विद्यालय गइरहेको र एक्कासी एकदिन बच्चा पुर्‍याउन आउने जाने अन्य अभिभावकले यो बच्चा त एचआईभी संक्रमित हो भनेर हल्ला गरिदिएपछि भोलिपल्ट चार, पाँच जना विद्यार्थी अनुपस्थित भएको जानकारी पाएको बताउनुभयो । दुई, तीन दिन हुँदा समेत विद्यार्थीहरु अनुपस्थित भएपछि आफूलाई विद्यालयले  बोलाएर ‘कक्षामा विद्यार्थी शून्य भयो भने, कस्ले व्यहोर्छ वा तिमीहरुको कुनै संस्थाले व्यर्हाेछ’ भन्ने दबाब मुलक प्रश्न गरेको बताउनुभयो । सो लगत्तै आफूले एचआईभी एड्ससम्बन्धी काम गर्ने विभिन्न संघ, संस्था र व्यक्तिलाई फोन गरी कुरा राख्दा समेत केही नहुने जस्तो भएपछि आफ्नो छोरीलाई पढाउने अठोटले त्यहाँबाट तनहुँको सदरमुकाम दमौली बसाइँ सरेको बताउनुभयो ।

उहाँको परिवारमा उहाँ लगायत पत्नी र बालिका एचआईभी संक्रमित छन् । ९ महिनाको छोरामा भने, संक्रमण देखिएको छैन् ।

आर्थिक अवस्था न्यून रहेको उहाँको परिवार दुइपिप्लेमा आफ्नै घर भएतापनि यस घटनापछि दमौलीमा कोठा भाडामा लिएर बस्न बाध्य हुनुभएको छ । उहाँले भन्नुभयो, ‘यता छोरीको विद्यालय भर्नासँगै, ड्रेस, कापिकलम लगायतका सामग्रीमा खर्च गरियो । अहिले विद्यालय नै सार्नुपर्ने र घर नै छाडेर परिवार नै डेरामा बस्नुपर्ने भएपछि झन खर्चको भार थुप्रियो ।’

भैरवकाली माविका प्रधानाध्यापक हरिश्चन्द्र लम्सालले विद्यार्थीका अभिभावकले आफ्नै हिसाबले अन्यत्र लगेको तर, विद्यालयले निष्कासन नगरेको बताउनुभयो ।

लम्सालले यस्ता विषयहरुमा काउन्सेलिङका कार्यहरु पनि हुँदै आएको बताउनुभयो । तर, यो विषयमा साना बच्चाहरु भैझगडा गर्ने, रत्तपात हुने अवस्था आए के होला भन्ने अभिभावकहरुको शंका रहेको र स्वीकार गर्न गाह्रो हुने अवस्था सृजना भएपछि यस्तो भएको बताउनुभयो ।

संक्रमित बालिकालाई रम्घा भ्याली बोर्डिङ स्कुलले पनि अघिल्लो वर्ष यस्तै समस्या देखाएकै कारण बाेर्डिङबाट निकाल्न बाध्य बनाएको अभिभावकको दुःखेसो छ ।

यस विषयमा मध्यनेपाल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सूर्य पौडेलले विद्यालयले यो किसिमको गतिविधि गर्नै नपाउने बताउनुभयो । ‘यस विषयमा पटक–पटक विद्यालयलाई निर्देशन समेत गरेको हो । छलफल गर्छु भन्दै टार्ने काम मात्र भएको छ । यस किसिमका बालबालिकालाई अध्ययन गर्न सहज वातावरण बनाउनु पर्नेमा अन्त लैजा भन्नु विद्यालयको गलत कदम हो । विद्यार्थीको अधिकार मास्न मिल्दैन।’ उहाँले भन्नुभयो ।

उहाँले नगरपालिका भित्र अन्य पनि यस्ता बालबालिका तथा बिरामीहरु रहेको भन्दै उनीहरुलाई सहयोग गर्नुपर्ने ठाउँमा यो किसिमको हर्कत गर्नु विद्यालयको गलत कदम रहेकाले यो विषयमा नगरपालिका गम्भीर रहेको बताउनुभयो ।


सुमित्रा भुजेल