एक हप्तादेखि श्रीनगर स्वास्थ्य चौकीमा औषधि अभाव, बिरामी मर्कामा

  ०८० जेठ ३ गते

अदानचुली गाउँपालिकामा–२ स्थित श्रीनगर स्वास्थ्य चौकीमा एक हप्तादेखि औषधिको अभाव भएको छ । स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा बिरामीहरू मर्कामा परेका छन । नेपाल सरकारले स्वास्थ्य चौकीमा निशुल्क उपलब्ध गराउने ३९ प्रकारका औषधि मध्येमा परासितमोल, जीवनजल, जिनजक्की र इमोक्ससीलिन लयागतका अभाव भएको सोही स्वास्थ्य चौकी प्रमुख रामशरण थापाले बताउनु भयो । बिरामीहरु दैनिक २५ जना भन्दा बढी  भाइरल ज्वरोका बिरामीहरू आउने गरेको तर चाहिने औषधि नभएर समस्या भएको उहाँको भनाइ छ ।

ज्वारो आएपछि चेकजाँचका लागि स्वास्थ्य चौकीमा पुगेर चेकचाँज गराइ निजी फर्माेसीमा गएर औषधि किन्न बाध्य भएको स्थानीय रामचन्द्र बुढाले बताउनुभयो । यसै गरी औषधि सकेर विरामी समस्यामा परेको अर्का एक स्थानीय युवराज भणडारीले गुनासो गर्नुभयो ।

बिरामीको संख्यामा वृद्धि भए पनि स्वास्थ्य चौकीमा औषधी नभएपछि निजी फार्मेसीमा बिरामीले  औषधि किन्न बाध्य भएको स्थानीय नरविर शाहीले गुनासो गर्नु भएको छ ।
शाहीका अनुसार हरेक गाउँमा बिरामी छन् तर औषधी नभएकाले स्वास्थ्य संस्थामा पुगे पनि रित्तै फर्कनु पर्ने बाध्यता छ ।

सो विषयमा गाउँपालिका उपाध्यक्ष कर्ण रोकायालाई बुझ्दा उहाँले गाउँपालिकाका स्वास्थ्य संस्थामा यस अघि खरिद गरेको औषधि सकिएको स्वीकार्दै अबको केही दिनमा औषधि अभाव हट्ने जानकारी दिनु भएको छ ।

गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको विवादका कारणले औषधि व्यवस्थापन गर्न नसकिएकाले स्वास्थ्य चौकीमा औषधिको अभाव भएको गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक हंस महताराले स्वीकार्नु भएको छ । उहाँले अबको केही दिनमा औषधि उपलब्ध गराउने बताउनुभयाे ।


नन्द सिंह