एक हप्तादेखि अवरुद्ध विद्युत् सेवा सुचारु नहुँदा सेवा प्रवाह सँगै सेवाग्राहीलाई समस्या

  ०८१ जेठ २६ गते

एक हप्तादेखि अवरुद्ध विद्युत् सेवा सुचारु नहुँदा इलाका प्रशासनको  सेवा प्रवाह सँगै सेवाग्राहीलाई समस्यामा भएको छ ।

छेडागाड नगरपालिका–५ स्थित चंखेलीमा स्थापना भएको इलाका प्रशासन कार्यालयमा केन्द्रिय विद्युत् प्रसारण लाइन अवरुद्ध भएपछि एक हप्ता देखि सेवा प्रवाहमा र सेवाग्राहीलाई समस्या भएको हो ।

इलाका प्रशासन कार्यालयमा विद्युत् नहुँदा वैकल्पिक सोलार समेत छैन जस्ले गर्दा प्रशासनको दैनिक काममा असहज भएको छ । छेडागाड नगरपालिका, शिवालय, जुनीचाँदे र कुशे गाउँपालिकाको १,२,३ र ४ वडाका सर्वसाधारणले जिल्ला प्रशासन कार्यालयबाट पाउने सेवा सुविधा गाउँ बस्तीबाट जनतालाई दिन केही महिना अघि स्थापना भएको इलाका प्रशासन कार्यालयमा विद्युत नभएपछि हप्ता दिनदेखि नागरिकताको प्रमाण पत्र लिन आएका सेवाग्राहीलाई समस्या भएको छ । एक दिनमा सम्पन्न हुने काम हप्ता दिनसम्म नहुँदा सर्वसाधारणलाई समस्या भएको हो ।

इलाका प्रशासन कार्यालय प्रमुख सत्यदेव खनालका अनुसार केन्द्रिय प्रसारण लाइनको विद्युत सेवा अवरुद्ध भएपछि वैकल्पिक सोलारको व्यवस्था नहुँदा नेपाली नागरिकताको प्रमाण पत्रका लागि एक सय ४० जनाका फाइल थन्किएको बताउनुभयो । विद्युत् नहुँदा वैकल्पिक सोलार व्यवस्थापन नभएका कारण काम ढिला भएको छ  । छेडागाड नगरपालिका, जुनीचाँदे कुशे, शिवालय गाउँपालिकाका सर्वसाधारण सवारी साधनमा महंङ्गो भाडा तिरेर सदरमुकाम आएर प्रशासनको सेवा लिने गरेका थिए । सरकारले प्रशासनबाट पाउने सेवा गाँउबस्तीबाट पाउन भन्ने लक्ष्यले स्थापना भएको इलाका प्रशासन कार्यालयमा विद्युत् काे वैकल्पिक व्यवस्था नभएपछि सेवा प्रवाहमा समस्या भएको हो ।

केन्द्रिय विद्युत् प्रसारण लाइन बिग्रिएपछि नागरिकताको प्रमाण पत्र लिन आएका नागरिक समस्यामा परेको छन् । छिटोछरितो जनतालाई सेवा दिने इच्छा भएपनि आधुनिक प्रविधिको युगमा हातले लेखेर सम्भव नहुने भएपछि सेवा पाउन नसकेको प्रमुख खनालको भनाइ छ ।

छेडागाड नगरपालिका–१२ का प्रेम बहादुर खत्रीले एक हप्ता देखि सरकारी कार्यालयम आएको काम हुन नसकेको गुनासो गर्नुभयो । सरकारले इलाका प्रशासन कार्यालयबाट प्रदान हुने सेवालाई नियामित गर्न वैकल्पिक स्रोत साधनको व्यवस्थापन नगरेपछि जनताले दुख पाउने गरेका छन् । बिहान घरबाट सेवा लिन आएका सर्वसाधारण  विद्युत् काे आशमा बस्ने गरेका छन् । सेवाग्राहीको समस्या समाधानको व्यवस्था मिलाउन सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गर्नु भयो ।

Photo20240608Jajarkot


बासुदेव शर्मा