एक हप्ताअघि गाउँपालिकाको कार्यालयमा तालाबन्दी, सेवाग्राहीलाई सास्ती

  ०७९ साउन ११ गते

अदानचुली गाउँपालिकाको कार्यालयमा एक हप्ताअघि करार कर्मचारीले तालाबन्दी गरेपछि गाउँपालिकामा आउने सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

गाउँपालिकाको कार्यालयमा साउन ५ गतेदेखि तालबन्दी भएपछि सात दिनदेखि स्थानीयका काममा बाधा पुगेको सो ठाउँका स्थानीय प्रकाश ऐडीले गुनासो गर्नु भएको छ ।

आर्थिक वर्ष ०७८/७९ मा विभिन्न काम सम्पन्न गरि भुक्तानी लिन आएका स्थानीय नागरिकले गाउँपालिका बन्द भएकै कारण रित्तो हातमा पर्कनु परेको ऐडीले गुनासो गर्नु भयो ।

गाउँपालिकाबाट प्रवाह हुँदै आएको सेवा मध्ये ठेक्का पट्टाको म्याद थपका सिफारिस, योजनाहरूको सिफारिस, अपाङ्गता भएका हात
व्यक्तिहरूको अपाङ्गता कार्ड, जन्म, मृत्यु, बसाईसराई लगायतका सिफारिसका लागि गाउँपालिकामा पुगेपनि सो सेवा उपलब्ध नहुँदा रित्तै हात फर्कनु पर्ने बाध्यता रहेको सोही ठाउँका अर्का स्थानीयबासी जङ्ग बहादुर फडेराले बताउनु भयो ।

अघिल्लो सरकारले नियुक्ति गरेका गाउँपालिकाका करिब ६० जना करार कर्मचारीको म्याद थप्ने प्रकृया नगरी बिना जानकारी साउन १ गते हाजिर गर्न नदिएको भन्दै करार कर्मचारीले साउन ५ गते गाउँपालिकाको कार्यालयमा तालाबन्द गरेका थिए ।

कार्यालयमा हाजिर हुन नपाएका कर्मचारीहरूले साउन २ गते गाउँपालिकामा ज्ञापन–पत्र बुझाउँदा सुनुवाई नभएको भन्दै अन्तिम विकल्पका रुपमा कार्यालयमा तालाबन्दी गर्नु परेको करार कर्मचारी सङ्घर्ष समितिका नवराज बुढाले जानकारी दिनु भएको छ ।

पालिकाको पछिल्लो अवस्थाका विषयमा छलफल गर्न कार्यपालिकाको बैठक आयोजना गर्ने भनिएपनि आन्तरिक कारण देखाउदैँ बैठक बस्न नसकेको गाउँपालिका निमित्त अध्यक्ष डिलबहादुर फडेराले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष गाउँपालिका भन्दा बाहिर रहेकै कारण पनि कार्यपालिकाको बैठक बस्न नसकेको र करार कर्मचारीको तालाबन्दीका कारण स्थानीयका कामकाजमा प्रभाव परेको निमित्त अध्यक्ष फडेराको भनाई छ ।


नन्द सिंह