एक सातादेखि विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित

  ०७८ वैशाख ६ गते

खार्पुनाथ गाउँपालिका–१ स्थित कैलाश आधारभूत विद्यालयमा ०७७ चैत २९ गतेबाट तालाबन्दी हुँदा विद्यार्थीहरूको पठनपाठन प्रत्यक्ष रूपमा प्रभावित भएको छ ।

प्रधानाध्याक नियुक्तिमा दलीय विवाद हुँदा सो विद्यालयका विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको स्थानीय खड्गबहादुर शाहीले बताउनु भयो ।

०७७ चैत २६ गते विद्यालय व्यवस्थापन समितिले कविन्द्र शाहीलाई प्रधानाध्यापकमा नियुक्त गरिएकामा चैत २९ गते खार्पुनाथ गाउँ कार्यपालिकाले सो निर्णलाई उल्ट्याउँदै लालबहादुर शाहीलाई प्रअमा नियुक्त गरपछि विद्यालय व्यवस्थापन समितिले नै विद्यालयमा तालाबन्दी गरेको स्थानीय शाहीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।

निर्णय विपरीत गाउँपालिकाले प्रअ नियुक्त गर्दा विद्यालय बन्द हुनुका साथै कोभिड–१९ ले लामो समय पछि सूचारू भएको विद्यार्थीको पठनपाठन अवरूद्ध भएको स्थानीय वर्षबहादुर शाहीले गुनासो गर्नु भएको छ ।

विद्यालय बन्द हुँदा करिब २ सय विद्यार्थीको पठनपाठन प्रभावित भएको स्थानीयको भनाई छ । वडा अध्यक्षको अध्यक्षतामा रहेको विद्यालय व्यवस्थापन समितिले एकजनालाई र गाउँपालिकाले अर्कै व्यक्तिलाई प्रधानाध्यापकको जिम्मा दिएपछि विद्यालयको विवाद चुलिएको हो ।

विद्यालय व्यवस्थापन समितिले यहि चैत २६ गते गरेको निर्णयमा आफूलाई प्रअको जिम्मा दिएपछि त्यस विरूद्धमा गाउँपालिकाले उक्त निर्णय उल्ट्याएपछि मात्र थप जटिल समस्या आएको शिक्षक कविन्द्र शाहीले बताउनु भयो ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिले प्रक्रिया नपुर्‍याएर काम गरेको अर्का शिक्षक लालबहादुर शाहीको भनाई छ ।

वडा र विद्यालय व्यवस्थापन समितिले न्यायपुर्ण निर्णय नगरेका कारण गाउँपालिकाले शिक्षा नियम अन्तर्गत प्रधानाध्यापकको नियुक्ति गरेर काम अगाडि बढाएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले बताउनु भयो ।


नन्द सिंह