एक समूहद्वारा दुई जना सञ्चारकर्मीमाथि कुटपिट गरेको आरोप

इलाम सदरमुकाम स्थित चियाबारी एफएममा कार्यरत एफएमका प्राविधिक प्रकाश न्यौपाने र बजार ब्यवस्थापक कृष्ण पाठकलाई फागुन २३ गते राति एक समूहले कुटपिट गरी घाइते बनाएको छ ।

एफएमको काम सकेर राति १० बजेतिर गोलबस्तीस्थित कोठामा फर्कदै गरेका पाठक र न्यौपानेलाई मदिरा सेवन गरी झगडा गरिरहेका युवाहरूले अचानक कुटपिट गरेको डिएसपी रमेश बस्नेतले जानकारी दिए ।

कुटपिटबाट न्यौपानेलाई सामान्य चोट लागेको छ भने पाठकको टाउको, हात र गोडामा गम्भीर चोट रहेको इलामका डिएसपी बस्नेतले बताए ।

घाइते पाठकको उपचार जिल्ला अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि झापाको बि एण्ड सी अस्पताल पठाइएको छ । कुटपिटमा संलग्न युवाहरूको पहिचान भएपनि घटना लगत्तै फरार रहेको र खोजी कार्य जारी रहेको बस्नेतले जानकारी दिएका छन् । खोजी कार्य जारी रहेकाले नाम गोप्य राखिएको प्रहरीले जनायो ।


कोकिला ढकाल