एक वर्षदेखि लिमीमा खाद्यान्न अभाव

  ०७८ मङसिर ११ गते

नाम्खा गाउँपालिका–६ को लिमी गाउँमा ०७७ कात्तिक महिनादेखि खाद्यान्नको अभाव भएपछि सो गाउँका स्थानीय खाद्य सम्प्रभूताको अधिकारबाट वञ्चित भएका छन् ।

आलु र उवा मात्रै उत्पादन हुने चीनसँग जोडिएको नाम्खा गाउँपालिकामा भोकमरी हुने भएपछि स्थानीय बासिन्दा चामलको पहलका लागि मङसिर ६ गते काठमाडौँ लागेका छन् ।

५ हजार मिटर अग्लो न्यालुलेक पहाडमा तीन फिट जमेको हिउँमा जोखिमपूर्ण यात्रा गरेर सदरमुकाम सिमकोट पुगेको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताउनु भयो ।

यतिखेर हुम्ला जिल्लामा चामल नभएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनु भएपछि आफ्नो टोली सिंहदरबार गुहार्न काठमाडौँ प्रस्थान गरेको अध्यक्ष तामाङको भनाइ छ ।

लिमीका तीन गाउँ तिल, जाङ र हल्जीमा गत वर्षदेखि राज्यले चामल पठाएको छैन । स्थानीय उत्पादन आलु र उवाले दुई–तीन महिना मात्र धान्छ ।

चीनबाट हिल्सा नाका हुँदै मैदा ल्याएर पनि स्थानीयले जीवन चलाउँथे । तर, कोभिड महामारीका कारण नाका बन्द गरिएपछि गाउँमा खाद्यान्नको थप सङ्कट भएको स्थानीयले बताए ।

अहिले भोकमरी नै हुने भएपछि तीन गाउँका बासिन्दाको बैठकले सदरमुकाम र सिंहदरबारको सरकारलाई गुहार्न वडाध्यक्षको नेतृत्वमा टोली नै पठाएको छ ।

‘खाद्य संस्थानबाट पोहोर लिएको चामल र उवाको सातु खाएर गाउँलेले केही समय गुजारा गरे । तर, त्यसपछि धान्न गा¥हो भयो । अहिले त भोकमरी नै हुने अवस्था आएको छ ।’–खाद्यान्न पहलका लागि सिमकोट पुगेका नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले इन्सेक प्रतिनिधिसँग भन्नु भयो ।

‘भोकभन्दा ठूलो केही नहुने रहेछ । हिउँले सेताम्मे पहाडमा बाटो कता हो भन्नेसमेत थाहा पाइँदैन । ज्यान जोखिममा राखेर बाटो बनाउँदै पाँच दिन हिँडेर बल्लतल्ल सदरमुकाम आइपुग्यौँ ।’–स्थानीय जाङका नुर्बु तामाङले भन्नु भयो ।

टोलीमा तीनै गाउँका ३० जना छन् । वडाध्यक्ष तामाङ, हुम्लाका सांसद छक्कबहादुर लामासँगै ३० जना सिंहदरबारलाई पीडा सुनाउन काठमाडौँ प्रस्थान गरेका हुन् ।

सदरमुकामस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाम रित्तै रहेको हुँदा लिमीमा खाद्यान्न पठाउन नसकेको प्रजिअ आचार्यको भनाइ छ ।

16 days campaignNepali
लिमीमा करिब १ सय ५० घरधुरी रहेका यी तीन गाउँमा विगतमा खाद्य कम्पनीले हिल्सा नाका हुँदै चीनतर्फबाट खाद्यान्न ढुवानी गथ्र्यो ।

‘पहिले चीनबाट मैदा पनि आउँथ्यो । अहिले बाटो बन्द भएकाले आएको छैन । आफ्नो खेतबारीमा उत्पादन हुने आलु र उवाले तीन महिनाजति मात्रै पुग्छ । अहिले अन्न सकिएर ठूलो समस्या पर्‍यो ।’– सिमकोट आएकी तिल गाउँकी स्थानीय छोइपुटी तामाङले भन्नु भयो ।

चीनतर्फबाट खाद्यान्न आउन ठप्प भएपछि गत वर्ष सिमकोट खाद्य डिपोले गाउँपालिकाको याल्बाङ विक्री केन्द्रमा ३ सय क्विन्टल चामल दिएको थियो । उक्त चामल गाउँपालिकाले १३ लाख रुपियाँ खर्च गरेर ढुवानी गरेको थियो ।

उक्त चामल सकिएपछि सङ्कट निम्तिएको वडाध्यक्ष तामाङले बताउनु भयो । उहाँका अनुसार ०७८ कात्तिक पहिलो साता चीनले हिल्सा र नाम्खा गाउँपालिकाका लागि ४ हजार ६ सय ८० बोरा मैदा र ८ सय बोरा चामल सहयोग गरेको थियो ।

त्यसमध्ये १ हजार ८ सय ४६ बोरा मैदा र २० बोरा चामल तिल, जाङ र हल्जी गाउँमा पठाउने निर्णय नाम्खा गाउँपालिकाले गरेको थियो । तर, हिल्सा नाका पारिपट्टि आइपुगेको मैदा र चामल हिमपातका कारण नेपाल ल्याउन नसकिएको हो ।

ठेक्कामा आर्थिक चलखेलले रित्तो बन्यो सिमकोटको गोदाम

जिल्लाका गाउँगाउँमा खाद्यान्न वितरण गर्ने सदरमुकाम सिमकोटकै गोदाम अहिले रित्तो छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ठेक्कामा चलखेल गर्दा १० हजार क्विन्टल चामल नेपालगन्ज र सुर्खेतमै रोकिएको छ ।

केही समयअघि खाद्य कम्पनीले सबैभन्दा धेरै ठेक्का कबुल गर्ने सिम्रिका एयर कार्गो सर्भिसलाई हवाई ढुवानीको जिम्मा दिएपछि समिट एयरले उच्च अदालत काठमाडौंमा मुद्दा हालेको थियो ।

अदालतले ठेक्का निर्णय कार्यान्वयन नगर्न आदेश गरेपछि ढुवानी रोकिएको छ । अदालतको आदेशअघि सिम्रिकाले सिमकोट पुर्‍याएको ३६ क्विन्टल चामल सदरमुकाममा अलपत्र छ ।

१० हजार क्विन्टल चामल ढुवानीका लागि तारा एयर, समिट एयर, सीता एयर र सिम्रिका एयर कार्गो सर्भिसले ठेक्का आवेदन दिएका थिए ।

सिम्रिकाले सबैभन्दा धेरै नेपालगन्ज–सिमकोट भ्याटबाहेक प्रतिकिलो १ सय १२ रुपियाँ र सुर्खेत–सिमकोट १ सय ५ रुपियाँ कबुल गरेको थियो ।

जब कि सीताले नेपालगन्ज–सिमकोट भ्याटबाहेक ७८ रुपियाँ र सुर्खेत–सिमकोट ६३ रुपियाँ कबुल गरेको थियो ।

समिटले नेपालगन्ज–सिमकोट भ्याटबाहेक ८९ रुपियाँ र सुर्खेत–सिमकोट ९७ रुपियाँ तथा ताराले नेपालगन्ज–सिमकोट भ्याटबाहेक १ सय १० रुपियाँ र सुर्खेत–सिमकोट ७८.९० रुपियाँ कबुल गरेका थिए ।

कम्पनीले सुर्खेतबाट ६ हजार क्विन्टल र नेपालगन्जबाट ४ हजार क्विन्टल ढुवानीका लागि ठेक्का खुलाएको थियो ।

हल्जीमा ९६, जाङमा ३० र तिल गाउँमा २५ घरधुरी गरेर करिब ५ सय जनसङ्ख्या छ । यहाँका लागि याल्बाङस्थित विक्री केन्द्रमा पठाउने चामल पनि सरकारले चिनियाँ बाटो हुँदै पठाउने गरेको थियो ।

रसुवाको केरुङबाट ताक्लाकोट हुँदै हिल्सा नाकाबाट चामल भित्रिन्थ्यो । तर, कोभिड महामारीपछि बन्द गरेको नाका चीनले अहिलेसम्म खोलेको छैन ।


नन्द सिंह