एक वर्षदेखि दूषित पानी पिउन बाध्य

  ०८१ असार ७ गते

वर्षा सँगै आएको बाढी पहिरोले खानेपानी ट्याङ्की भत्किएपछि सर्केगाड गाउँपालिका–१ का स्थानीय नागरिक शुद्ध खानेपानीबाट वञ्चित भएका छन् ।

०८० साउनको तेस्रो साता परेको अविरल वर्षा संगै आएको बाढी पहिरोले पानीको ट्याङ्की भत्किदा तुम्चका स्थानीयबासी कर्णालीको दूषित पानी पिउन बाध्य भएका छन ।

एक साता लामो परेको अविरल वर्षा सँगै आएको बाढीले खानेपानीको ट्याङ्की सहित पाइप बगाएपछि खानेपानी अवरुद्ध भएको स्थानीय परबहादुर बुढाले बताउनुभयो । अवरुद्ध खानेपानीको पहल हालसम्म नगर्दा करिब सात सय भन्दा बढी स्थानीय नागरिक कर्णालीको धमिलो पानी पिउन बाध्य भएको स्थानीय बुढाले जानकारी दिनुभयो ।

वर्षाले क्षति गरेदेखि नियमित रुपमा दुई घण्टाको जोखिमको बाटो हिडेर कर्णालीको दूषित पानी पिउन बाध्य भएको अर्का स्थानीय प्रकास शाहीले गुनासो गर्नुभयो । खानेपानी अवरुद्ध भए सँगै कर्णालीको पानि प्रयोगका कारण ज्वरो, झाडा पाखाला, रुघाखोकी लगायतका बिरामी हुने गरेको शाहीको भनाइ छ ।

अन्य ठाउहरुमा वर्षाकै कारण अवरुद्ध भएको खानेपानी मर्मत पछि सञ्चालनमा आए पनि तुम्चमा हालसम्म कुनै पनि निकायको ध्यान नजादा कर्णालीको धमिलो पानि खान बाध्य भएको शाहीले गुनासो गर्नुभयो ।

स्थानीय सरकारले उक्त क्षेत्रमा हालसम्म अनुगमन पनि नगरेको बताउनु भएको छ । कुनै निकायले अनुगमन गरी आफूलाई खानेपानीको पाइप मात्र भए पनि सहयोग गरे स्थानीयको श्रमदानबाट भए पनि खानेपानी सञ्चालन गर्न सकिने स्थानीयले बताएका छन् ।

उक्त विषयमा अदानचुली गाउँपालिका–१ का वडा अध्यक्ष अके महतारालाई बुझ्दा गाउँपालिकालाई कुरा गर्दा बजेट अभावका कारण यो वर्ष नभए पनि आगामी वर्षका लागि खाने पानी योजनाका लागि बजेटको व्यवस्था गर्ने तयारी रहेको बताउनुभयो ।


नन्द सिंह