एक महिना अघि झडपमा घाइते भएका कैदीको उपचारको क्रममा मृत्यु

बीरगञ्ज कारागारभित्र ०७३ पुस १० गते दिउँसो कैदीहरूबिच भएको झडपमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका २६ वर्षीय कैदी राजनकुमार बानियाको माघ १७ गते उपचारको क्रममा काठमाडौँको वीर अस्पतालमा मृत्यु भएको  छ । उनको उपचार सुरक्षा निगरानीमा काठमाडौँमा भइरहेको थियो ।

बीरगञ्ज उमनपा-१३ घडीअर्वा घर भएका बानिया, शरीर बन्धक तथा अपहरण मुद्दामा बीरगञ्ज कारागारमा कैदी जीवन बिताइरहेका थिए ।

पुस १० गते बेलुकी 'क्रिसमस पर्व'का अवसरमा बीरगञ्ज कारागारभित्र कैदीबन्दीहरूले रमाइलो गरिरहेका बेला कैदी पनिलाल पण्डितले चक्कु प्रहार गर्दा राजनसहित आठ जना कैदीहरू घाइते भएका थिए ।

पण्डितको चक्कु प्रहारबाट बानियाको टाउको पछाडि गर्दनभन्दा माथिको भागमा गहिरो घाउ भएको थियो ।

मृतकका ५० वर्षीय बुवा रामधारी दास बानियाले गृहप्रशासनले उपचारमा ध्यान नदिएको कारण आफूले छोरा गुमाउनु परेको बताए । छोराका उपचारमा उनले आफनो १ लाख ५० हजार रुपियाँ खर्च भएको बताए ।  'अप्रेशनमा लाग्ने खर्च आफैँ तिर्न तयार थिएँ, त्यसका लागि घर बन्धकी राख्ने तयारी पनि गरिसकेको थिएँ । तर, जेलर र पुलिसले मिल्दैन भनेपछि आफूले केही गर्न सकिनँ ।'-उनले भने ।

उपचारको उचित व्यवस्था मिलाइदिन पर्साका प्रमुख जिल्ला अधिकारी तथा कारागार प्रशासनसँग गुहार मागे पनि कसैले वास्ता नगरेको रामधारी दासले आरोप लगाए । वीर अस्पतालमाको ट्रमा सेन्टरमा चार दिन राखेपछि उनलाई कारागार प्रशासनले काठमाडौँमा रहेको कारागार भित्रको मेडिकलमा राखेर उपचार गर्दै आएको थियो ।

माघ १७ गते पीडितको अवस्था गम्भीर भएपछि केन्द्रीय कारागार प्रशासनले पीडित बानियालाई वीर अस्पताल पठाएको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले राजनलाई उपचारका लागि बीरगञ्जबाट काठमाडौँ पठाएलगत्तै उनको केन्द्रीय कारागारमा सरुवा गरिएको र त्यसपछि राजनको सबै जिम्मेवारी केन्द्रीय कारागार प्रशासनको हुने प्रतिक्रिया दिए ।

'अदालतको आदेशबाट प्रहरीको थुना वा कारागारमा रहेका व्याक्तिको खानपान, बास, सुरक्षा र उपचारको जिम्मेवारी राज्यको हुन्छ, राजनमाथि कारागारभित्रै आक्रमण भएको हो, त्यसैले उनको उपचार सुविधा सम्पन्न अस्पतालमा गराउनुपर्ने दायित्व राज्यको नै थियो ।'-अधिवक्ता पन्नालाल गुप्ताले भने ।

 


केसी लामिछाने