एक महिनादेखि खानेपानी बन्द, स्थानीयबासी नदीको दुषित पानी पिउन बाध्य

खार्पुनाथ गाउँपालिका–५ स्थित याङ्चु गाउँका स्थानीयबासी एक महिनादेखि खानेपानीबाट बञ्चित भएका छन् । स्काभेटरले स्यालाबाडा गाउँ भन्दा माथिदेखि खर्पेल गाउँसम्मको सडक निर्माण गर्ने क्रममा खानेपानीको पाइप लाइन काटिएर लथालिङ्ग भएपछि गाउँबासी एक महिनादेखि शुद्ध खानेपानीबाट बञ्चित भएका हुन् ।

सडक निर्माणका कारण याङचुको डाँडाबाडाका ३७ घरधुरी हाल कर्णाली नदीको दुषित पानी पिउन बाध्य भएको सोही ठाउँका स्थानीय बालकृष्ण शाहीले गुनासो गर्नुभयो । उहाँका अनुसार स्काभेटरले खाने पानीको पाइपलाइनलाई अधिकांश ठाउँमा पाइप काटेका कारण उक्त बस्तीका नागरिक डेढ घण्टा लगाएर कर्णाली नदीको पानी ल्याएर पिउन बाध्य भएका छन् ।

कर्णाली नदीको पानी लिन जाँदा बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई कर्णाली नदीमा खस्ने डर हुनुका साथै उकालोमा पानी ल्याउँदा स्थानीय नागरिकलाई निकै कठिनाइ हुने गरेको अर्का स्थानीय सागर शाहीले गुनासो गर्नुभयो । उक्त क्षेत्रका स्थानीय नागरिकलाई सडक निर्माणले गरेको क्षतिका विषयमा स्थानीय सरकारले भने चासो नदिएको शाहीले गुनासो गर्नु भएको छ ।

सो विषयमा खार्पुनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीलाई बुझ्दा उहाँले सडक निर्माण गर्दा खानेपानीको लाइन काटिएको स्वीकार गर्दै यसलाई व्यवस्था गर्ने बताउनुभयो ।


नन्द सिंह