एक महिनादेखि क्याम्पसमा ताला, पठनपाठन ठप्प

  ०७६ फागुन २५ गते

बनेपा नगरपालिका–६ मा रहेको काभ्रे बहुमुखी क्याम्पसको प्रशासन र लेखा शाखामा ०७६ माघ २६ गतेदेखि तालाबन्दी भएपछि पठनपाठन ठप्प भएको छ ।

अनेरास्ववियुले गरेको तालान्दीका कारण कक्षा ११ र १२ को पठनपाठन ठप्प भएको हो । ताला नखुल्दा ११ र १२ कक्षा ५५ जना विद्यार्थीले पढ्न पाएका छैनन् । क्याम्पसको लापरवाहीका कारण विद्यार्थीको भविष्य अन्योल भएको भन्दै क्याम्पस प्रमुख केजी बैदारको राजीनामा र विद्यार्थीको हालसम्मको शुल्क फिर्ता तथा थप क्षतिपूर्तिको माग राखेर तालाबन्दी गरेको अनेरास्ववियूका केन्दीय सदस्य शालिकराम पराजुलीले बताउनु भयो ।

Photo20200309Kavre1 photo20200309 Kavre

कक्षा १२ मा अध्ययनरत विद्यार्थी एलिसा लामाले पटक–पटक क्याम्पस प्रशासनलाई आफूहहरूको समस्या सम्बोधन गर्न आग्रह गर्दा पनि क्याम्पस प्रमुख केजी बैदारले बेवास्त गरेको बताउनु भयो । विद्यार्थी लामाका अनुसार क्याम्पसले कक्षा ११ र १२ मा कम्प्युटर इञ्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई अनिवार्य रसायन विज्ञान र भौतिक विज्ञान विषय नपढाएर नेपाली र अङ्ग्रेजी विषय अध्यापन गराएका कारण स्नातक तहमा विद्यार्थीले कम्प्युटर इञ्जिनियरिङ्ग अध्ययन गर्न नपाउने परीक्षा बोर्डले बताएको छ ।

तालाबन्दी खुलाउन विद्यार्थी सङ्गठन र क्याम्पस प्रशासनबीच फागुन १३ गते भएको छलफल समेत निष्कर्ष विहिन भएको थियो । तालाबन्दीले कक्षा ११ र १२ का बिद्यार्थीको बाहेक अरु कक्षाहरु भने सुचारु नै रहेको क्याम्पस प्रमुख केजी बैदारले बताउनुभयो । पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले पाठ्यक्रम अनुसार नपढाए मान्यता नहुने बताउनु भयो ।


हिरामान तामाङ