एक नगरपालिकासहित तीन गाउँपालिका सुरक्षा सम्वेदनशील

  ०७४ जेठ १५ गते

स्थानीय तहको दोस्रो चरण अन्तरगत जेठ ३१ गते हुने निर्वाचनमा दार्चुलाका एक नगरपालिकासहित तीन गाउँपालिका सुरक्षाका दृष्टिले अति सम्वेदनशील रहेको सुरक्षा समितिले जनाएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका नौ स्थानीय तहमध्ये मतदान केन्द्रलाई सम्वेदनशील र अतिसम्वेदनशीलमा छुट्याइएको हो ।

शैल्यशिखर नगरपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका १० ओटा मतदान केन्द्र अतिसम्वेदनशील र १६ ओटा मतदान केन्द्र सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाले बताए ।

दार्चुलामा जम्मा १ सय २८ ओटा मतदान केन्द्र रहेका छन् । यी केन्द्रहरूमा सुरक्षाको लागि १४ स्थानमा नेपाली सेनाको शिविर राखिने पनि उनले बताए । हालसम्म नेपाली सेनाको दुर्गादल गुल्मले मालिकार्जुन गाउँपालिकाको शङ्करपुर, मार्मा गाउँपालिकाको लटिनाथ, अपि हिमाल गाउँपालिकाको खण्डेश्वरी, व्यास गाउँपालिकाको व्यास र लेकम गाउँपालिकाको खरकडामा क्याम्प राखिसकिएको छ । सुरक्षा समितिका अनुसार नेपाली सेनाले हरेक स्थानीय तहको बाहृय सुरक्षाको लागि खटिने भएको हो ।

यस्तै सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म दार्चुलाले शैल्य शिखर नगरपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, मालिकार्जुन गाउँपालिकामा क्याम्प राख्ने तयारी गरेको छ । चार ठाउँमा क्याम्प राखेर सशस्त्र प्रहरी परिचालन हुने सुरक्षा समितिले जनाएको छ ।

स्थानीय तह निर्वाचनमा चारओटै सुरक्षा अङ्गहरू परिचालन गरिएपनि तीन तहमा सुरक्षा घेरा बनाइएको छ । मतदान स्थलभित्रको सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरी, मतदान स्थल बाहिरको सुरक्षा सशस्त्र प्रहरी र त्यस भन्दा बाहिरको क्षेत्रमा नेपाली सेनाले सुरक्षा दिने जनाइएको छ ।

सकेसम्मको सुरक्षा प्रबन्ध मिलाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । 'सबै क्षेत्रमा सेना पुग्छ, बाहृय पेट्रोलिङ गस्ती हुन्छ ।'-उनले भने-'निर्वाचनमा खटिने कर्मचारी, मतदान गर्ने मतदाता, सबैलाइ निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्दछु ।'

मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले निर्वाचनमा खटिनेहरूको पूर्ण सुरक्षाको प्रबन्ध सुरक्षा समितिले गरिसकेको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको कामलाई तीव्रता दिइरहेको उनले बताए ।

दोस्रो चरणको निर्वाचनको लागि जेठ १९ गते उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम रहेको छ । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा एक सय २८ मतदान स्थल तोकिएका छन् भने निर्वाचनमा भाग लिन १२ ओटा दल दर्ता भएका छन् । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलामा ७२ हजार ९ सय ६ जना मतदाता रहेका छन् ।

नेपाल सरकारको जेठ १५ गते बसेको बैठकले स्थानीय तह दोस्रो चरणको निर्वाचन मिति असार ९ गतेका लागि सार्ने निर्णय गरेपछि निर्वाचनका कार्यक्रम हेरफेर हुने बताइएको छ ।


नरेन्द्रसिह कार्की