एकीकृत समाजवादीका कार्यकर्ताद्वारा निर्वाचन अधिकृतको कार्यालयमा तोडफोड

  ०७९ वैशाख १३ गते

नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरूद्वारा लहान नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा वैशाख १३ गते तोडफोड गरेका छन् ।

आफ्नो दलका उम्मेदवारहरूको ४२ ओटा फाइल दर्ता नगरी गायब गरेको र ५ बजेपछि दर्ता नगर्ने भनेकाले सो विषयमा विवाद भएको समाजवादीका केन्द्रीय सदस्य सत्यनारायण यादवले बताउनु भयो ।

‘नियत बस हाम्रो फाइलहरु लुकाएर हामीले विवाद गरेपछि लहानका डिएसपीले फाइल खोज्न सहयोग गरेको र निर्वाचन अधिकृतले दर्ता नगर्ने बताएपछि आक्रोशीत कार्यकर्ताहरूले नारा जुलुस गरेको र सो क्रममा प्रहरीको लाठी चार्जबाट लहान २२ का वडा अध्यक्षका उम्मेदवार आन्नद चौधरी सामान्य घाइते हुनु भएको छ ।’–केन्द्रीय सदस्य यादवले भन्नु भयो ।

लहानका निर्वाचन अधिकृत गोविन्दराज पोखरेलले एकीकृत समाजवादीको फाइल त्रुटी पूर्ण रहेको र कागजातहरू नमिलेकाले समयमा सफ्टवेयरमा दर्ता नभएको तथा सरबर डाउन भएकाले ५ बजेपछि दर्ता हुने कि नहुने भन्ने विषयमा समाजवादीका कार्यकर्ताहरूले विवाद गरेको बताउनु भयो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमारप्रसाद मैनालीले उम्मेदवारी दर्ताको विषयमा सामान्य विवाद भएको र सो क्रममा समाजवादीका कार्यकर्ताहरूले निर्वाचन कार्यालयका झयालको सिसाहरू फुटाएको बताउनु भयो । उम्मेदवारी दर्ता गर्ने शर्तमा विवाद समाधान गरिएको पनि उहाँले बताउनु भयो ।


दुर्गा परियार