एकीकृत बस्तीमा जीविकोपार्जनमा समस्या

नौकुण्ड गाँउपालिका–१, साङयुलबाट विस्थापित भइ लाङ्बुमा एकीकृत बस्ती निर्माण गरी स्थानान्तरण गरिएका उनीहरू जीविकोपार्जनमा समस्या परेपछि पुनस् जोखिमयुक्त स्थानमै फर्कन बाध्य भएका छन् ।

०७२ साल वैशाखको विनाशकारी भूकम्पले साङयुलका २४ घर विस्थापित भएपछि उनीहरूका लागि सरकारले दुई वर्ष अघि सोही वडाको लाङ्बुको एकीकृत बस्तीमा निर्माण गरी पुनस्थापना गराएको थियो ।

त्यहाँ खेतीपाती गर्ने थप जग्गा नभएको र साङयुलगाउँ टाढा भएकोले जीविकोर्पाजनमा समस्या परेकोले जोखिमयुक्त भए पनि पुर्खौलि थलोमा परिवारै फर्कन बाध्य भएको निमा लामाले बताउनु भयो ।

लाङबुमा आवास बाहेक जीविकोर्पाजनको कुनै स्रोत नभएकोले जोखिम भनिएको साङयुलमै फर्केर बस्न बाध्य भएको स्थानीय नुर्पु तामाङले जानकारी दिनुभयो । साङयुलमा पहिरोको धेरै जोखिम भएपनि आफ्नो जग्गा सोही ठाउँमा भएर बसेको उहाँले भन्नुधयो ।

बालबालिका पढ्ने विद्यालय लाङबुमा छ सरकारले घर बनाउने जग्गा खरिद गरेर आवास त बन्यो, हातमुख जोर्ने कुनै विकल्प छैन । पहिरोको जोखिम भएपनि विकल्प भएर खेती लगाउन साङयुल फर्कन थालेको स्थानीय दावा तामाङले बताउनु भयो । 'यहाँ काम तथा अन्य रोजगारीको सम्भावना छैन के गर्ने' उहाँले भन्नुभयो ।

राष्ट्रिय पुर्ननिर्माण आयोजना कार्यन्वयन इकाई भवनले सुरक्षित स्थान छनोट गरी  एकीकृत आवास निर्माण गरिएको स्थानबाट साविकको थातथलो पुग्न करिब तीन घन्टा पैदल हिँड्नुपर्ने स्थानीय तामाङले जानकारी दिनुभयो । खेती गने जग्गा उता छ तर पहिरोले घर बस्न नहुने अवस्था भएको तामाङले बताउनु भयो ।

एक वर्ष अघि नै बस्तीमा सडकको पहुँच सहित खानेपानी, विद्युत तथा घेराबार सहित निर्माण सम्पन्न गरी सबै घरहरू विस्थापित परिवारलाई हस्तान्तरण भएपनि अहिले जीविकोपार्जनका लागि समस्या परेपछि उनीहरू बसेका छैनन् ।

लाङ्बु एकीकृत बस्ती निमार्ण गर्न राष्ट्रिय पुर्ननिमार्ण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई भवनले १ करोड ८० हजार तथा उपभोक्ता समितिले ११ लाख २३ हजार गरी १ करोड १२ लाखको लागतमा दुई कोठे २४ ओटा भवन निर्माण गरेका थिए ।

Photo_080-1-7_Rasuwa


हेमनाथ खतिवडा