एकीकृत गुठी ऐन तत्काल बनाउन किसानको माग ! (फोटो फिचर)

  ०८१ भदौ २६ गते

दाङका स्वर्गद्वारी गुठीपीडित किसानले तत्काल एकीकृत गुठी विधेयक संसदमा दर्ता गरी कानुन बनाउन सरकारसँग माग गरेका छन् ।

तीन पुस्तादेखि जोगभोग गर्दै आएको जग्गामाथिको अधिकार किसानले पाउन नसकेको भन्दै गुठीपीडित किसानहरूले सरकार र स्वर्गद्वारी गुठीपीडित किसान सङ्घर्ष समितिबीच ०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको सहमति तत्काल कार्यान्वयनको माग गर्दै ०८१ भदौ २६ गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका छन् । यस अघि आवासीय आन्दोलन थालेका किसानका प्रतिनिधि र मन्त्रालयबीच भएको वार्तापछि एकीकृत गुठीसम्बन्धी नयाँ कानुन तर्जुमा गर्न अविलम्ब प्रक्रिया थाल्ने सहमति भएको थियो । सरकारले गुठी समस्याबारे बुझ्न दाङमा टोली पठाए पनि कानुन बनाउनेतर्फ ध्यान नदिएको भन्दै ध्यानाकर्षण गराएको स्वर्गद्वारी गुठीपीडित सङ्घर्ष समिति दाङका अध्यक्ष प्रभुराम चौधरीले बताउनु भयो ।

तत्काल एकीकृत गुठी विधेयक संसदमा टेवल गरेर कानुन निर्माण गर्न र मोही किसानको अधिकार स्थापित गर्न किसानहरूले माग गरेका छन् । नेपालको संविधान २०७२ मै द्वैध भू–स्वामित्व अन्त्य गर्ने उल्लेख गरेर सरकारले संविधानकै पालना नगरेको भन्दै गुठीपीडित किसानले द्वैध भू–स्वामित्वको अन्त्य नगरे थप आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । ‘जमिन जोत्दा जोत्दै हाम्रा चार पुस्ता सकिए । अब पर्खन सकिँदैन । कि राज्यले संविधानको पालना गरोस्, राज्यले संविधान मान्दैन भने हामी जस्तोसुकै आन्दोलनमा जान बाध्य हुन्छौँ । हामीले जुन जमिनमा पसिना बगायौँ, रगत बगाउन पनि तयार छौँ', गुठीपीडित सङ्घर्ष समिति दाङका सचिव प्रविण चौधरीले भन्नुभयो ।

प्यूठानमा रहेको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारीको दाङमा रहेको १ हजार ५० बिगाहा जमीनमध्ये ७ सय ५३ दशमलव ४ बिगाह जमीनमा किसानको मोही कायम छ । भोगचलन गर्दै आएका किसानहरूले कानुन बमोजिम मोही अधिकार पाउनुपर्ने र बाँकी जमीन सरकारी दरमा किसानलाई नै खरिद गर्न दिनुपर्ने माग गर्दै आएका छन् । मोही अधिकार दिन स्वर्गद्वारी गुठी पनि सकारात्मक देखिएको तर सर्वोच्च अदालतले ०६२ फागुन १४ गते स्वर्गद्वारी गुठी विशेष प्रकारको गुठी भन्दै खण्डीकरण नगर्न परमादेश जारी गरेपछि किसानहरू मोही अधिकारबाट वञ्चित भएका हुन् । ०७२ मा नयाँ संविधान आइसकेकोले संविधानले गुठी समस्या समाधान गर्न कानुन बनाउने अधिकार दिएको भन्दै कानुन ल्याएर गुठीपीडित मोही किसानका माग सम्वोधन गर्न सरकारसँग माग गरेको स्वर्गद्वारी गुठीपीडित मोही किसान सङ्घर्ष समिति दाङका संयोजक प्रभु चौधरीले बताउनु भयो ।

स्वर्गद्वारी गुठीको दाङका १२ मौजामा ३ हजार ५ सय घरधुरीका १६ हजार २ सय ६७ किसान आश्रित छन् । मोही अधिकार कार्यान्वयनको माग गर्दै किसानहरूले यस अघि घोराहीमा ३१ दिनसम्म आवासीय रूपमा जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना बसेका थिए भने मालपोत कार्यालयमा तालाबन्दी समेत गरेका थिए । माग सुनुवाई नभएको भन्दै भदौ २६ गते घोराहीको ट्राफिक चोक र झिगौरा चोकबाट छुट्टा छुट्टै दुई ओटा र्‍यालीसहित बजार परिक्रमा गरेका किसानहरूले प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । त्यसपछि प्रशासनको गेटमा कोणसभा गर्दै तत्काल माग सम्वोधन गर्न माग समेत गरेका छन् ।

Photo11092024Dang

Photo11092024Dang1

Photo11092024Dang2

Photo11092024Dang3

Photo11092024Dang4

Photo11092024Dang5

Photo11092024Dang6

Photo11092024Dang7

Photo11092024Dang8

Photo11092024Dang9

Photo11092024Dang10

Photo11092024Dang11


जयनारायण पुन