एकीकृत गुठीसम्बन्धी कानुन ल्याउने सहमतिपछि मोही किसानको आन्दोलन स्थगित

स्वर्गद्वारी गुठीपीडित किसानहरूको माग सम्बोधन गर्ने गरी नयाँ एकीकृत गुठीसम्बन्धी कानुन ल्याउन प्रक्रिया थाल्ने सहमतिपछि दाङको घोराहीमा ३१ दिनदेखि जारी मोही किसानहरूको आन्दोलन चैत ८ गतेदेखि स्थगित गरिएको छ ।

मोही अधिकार कार्यान्वयनको माग गर्दै ०८० फागुन ८ गतेदखि मोही किसानहरूले जिल्ला प्रशासन कार्यालय, दाङको गेटमा आवासीय धर्ना कार्यक्रम गर्दै आएका थिए । सरकार र स्वर्गद्वारी गुठीपीडित किसान सङ्घर्ष समितिबीच चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको वार्तापछि एकीकृत गुठीसम्बन्धी नयाँ कानुन तर्जुमा गर्न अविलम्ब प्रक्रिया थाल्ने सहमति भएको सङ्घर्ष समितिका अध्यक्ष प्रभुराम चौधरीले बताउनु भयो । सहमतिपछि ३१ दिनेदेखि घोराहीमा जारी आन्दोलन समापन गर्दै अध्यक्ष चौधरीले कानुन नआउँदासम्म रचनात्मक दवाव भने जारी रहने बताउनु भयो ।

अबिलम्ब कानुन निर्माणको काम अघि बढाउन मन्त्रालयले एउटा टोली बनाएर तत्काल काम थाल्ने वार्तामा सहभागी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बताउनु भयो । उहाँले संविधानले हरेक जनताको आवासको हक सुनिश्चित गरेको र अहिले किसान मजदुरकै आन्दोलनको जगमा स्थापित सरकार भएकाले नयाँ कानुनमार्फत जसरी पनि समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मोही अधिकार पाएका स्वर्गद्वारी गुठीका ३ हजार ५ सय घरधुरी किसान ०६२ फागुन १४ गते सर्वोच्चको परमादेशले भूमिअधिकारबाट वञ्चित भएका छन् । स्वर्गद्वारी गुठी विशेष प्रकृतिको भन्दै सर्वोच्चले खण्डीकरण नगर्न नगराउन परमादेश जारी गरेको थियो । एक हजार ५० विगाह जमिन मध्ये ७ सय ५३ दशमलव ४ विगाहमा मोही कायम भएको छ । जसमा ३ हजार ५ सय घरधुरीका १६ हजार २ सय ६७ किसान आश्रित छन् ।

Photo22032024Dang

Photo22032024Dang1


जयनारायण पुन