एकमहिनादेखि बेपत्ता डङ्गोलको उद्धारका लागि आग्रह

उत्तरगया गाउँपालिका-५ स्थित ट्रिनिट्री आवासीय विद्यालयका सञ्चालक २९ वर्षीय चित्रमान डङ्गोल ०७४ चैत १५ गतेदेखि हराएकोमा अझै फेला पर्न सकेका छैनन् ।

अपरचितले अपहरण गरी भारतको चेन्नाईमा पुर्‍याएको जिवितै रहेकोले उद्धारका लागि उनको परिवारले अपिल गरेको छ ।

टिमुरे जाने भनेर चैत १५ गते घरबाट निस्केको र सम्पर्कमा नआएपछि चैत १८ गते जिल्ला प्रहरी कार्यालयमा उनकी पत्नी लक्ष्मी थोक्राले खोजी गरिदिन भन्दै निवेदन दिइन् ।

उनले पत्रकार तथा मानव अधिकारकर्मीसँग समेत खोजीमा सहयोग गरिदिन आग्रह गरेकी छिन् । भारतको चेन्नाईमा बन्दी अवस्थामा रहेको गोप्य रूपमा आफूसँग फोन सम्पर्क भएको, अपहरणकारीको कब्जामा रहेकोले उद्धारका लागि सुरक्षा निकाय तथा अधिकारकर्मीहरू समक्ष लक्ष्मीले अनुरोध गरेकी छिन् ।

भारतको चेन्नाईमा रहेको बारे अनुसन्धान भइरहेको र प्रक्रियागत रूपमा ल्याउन प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।


हेमनाथ खतिवडा