एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लैङ्गिक हिंसाका पीडितको सङ्ख्या बढ्दै !

  ०८१ मङ्सिर २० गते

बर्दिया अस्पताल, गुलरियामा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा लैङ्गिक हिंसाका पीडितको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

एकद्वार सङ्कट व्यवस्थापन केन्द (ओसिएमसी) बाट बलात्कार, यौन दुर्व्यवहार, शारीरिक यातना, बालविवाह, मानव ओसार पसार, घरेलु हिंसा लगायतको मानव अधिकार उल्लङ्घनका घटनामा परी शारीरिक, मानसिक तथा सामाजिक यातना भोगेकालाई सहयोग गर्ने उद्देश्यले यसको स्थापना भएको हो ।

आर्थिक वर्ष २०८१/८२ को कात्तिकसम्ममा ६८ जना, लैङ्गिक हिंसाको पीडितको स्वास्थ्य उपचार, मानसिक एवम् मनोसामाजिक परामर्श सेवा दिइएको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको स्रोत व्यक्ति एवम् बर्दिया अस्पतालको नसिङ निरिक्षक सपना बाठामगरले बताउनु भयो । उहाँले एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा आउने मध्ये जनजाति ३५ जना, बाह्मण ११ जना, दलित आठ जना, मधेसी नौ जना, मुस्लिम दुई जना र अन्य तीन जना रहेको जानकारी दिनुभयो ।

त्यसैगरी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा उपचार सेवा लिने आउनेहरूका उमेर समूह आधारमा तथ्याङ्क हेर्दा १० वर्ष भन्दा कम उमेरका ६ जना, १० वर्षदेखि १४ वर्षका सात जना, १५ देखि १७ वर्षका २६ जना, १९ देखि ४९ वर्षका २७ जना, ५० वर्षदेखि ५९ वर्षका दुई जना रहेको समेत उहाँले बताउनु भयो । उहाँले भन्नुभयो - ‘पीडितहरूको शैक्षिक अवस्था हेर्दा सबैभन्दा बढी आधारभूत तहसम्म पढेकाहरूको सङ्ख्या बढी देखिन्छ । निरक्षर ६ जना, प्राथमिक तहसम्म पढेका १२ जना, आधारभूत तहसम्म पढेका ३८ जना, उच्च शिक्षासम्म पढेका आठ जना र स्नातक तहसम्म पढेका चार जना पीडितहरू उपचारका लागि आएका छन् ।’ एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट गत आर्थिव वर्ष २०८०/८१ मा २ सय १० जना आर्थिक वर्ष २०७९/८० मा २ सय ८९ जनाले सेवा लिएका थिए ।

लुम्बिनी प्रदेशका सांसद मालती सोडारीले लैङ्गिक हिंसाका घटनाहरू समाजमा बढ्दै गएको पाइएको बताउनु भयो । उहाँले भन्नुभयो - ‘अझै पनि कतिपय घटनाहरू समाजमा नै दबिएर बसेको छ । हाम्रो धर्म संस्कार, रीति रिवाजका कारण लैङ्गिक हिंसा घटना बाहिर आउन सकेका छैनन् । समुदायमा रहेका यस्ता हिंसाका घटनाहरूलाई रोकथाम गर्नका लागि सबैले आफ्नो ठाउँबाट प्रयास गर्नुपर्ने देखिएको छ ।’

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लैङ्गिक हिंसाका घटनाका पीडितहरू स्वास्थ्य संस्थामा आफै आउने विषय सकारात्मक भएको बताउनु भयो । उहाँले एकद्वार सङ्कट व्यवस्थापन केन्द्रसम्म पीडितको पहुँचलाई अझै बढाउन यसको बारेमा प्रचारप्रसार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । सरकार व्यवस्थापन गरेको बजेटबाट लैङ्गिक हिंसाका पीडितले बढी राहत पाउनुपर्ने उहाँको भनाइ छ ।

बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डेले लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र हिंसा पीडितहरूलाई उपचारको साथै उचित व्यवस्थापन गरी लैङ्गिक हिंसा नियन्त्रणमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना भएको उल्लेख गर्नुभयो । लैङ्गिक हिंसामा परेका महिलाहरूमाथि हुने बलात्कार, यौन दुर्व्यवहार, घरेलु हिंसा लगायत अन्य सङ्कटमा रहेकालाई उद्धार र उपचार व्यवस्थापन, पुर्नस्थापनाको काम एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले काम गर्दै आएको उहाँको भनाइ छ ।

उहाँले लैङ्गिक हिंसा महिला, बालबालिकाहरूलाई सुरक्षा, स्वास्थ्योपचार, मानसिक एवम् मनोसामाजिक परामर्श ,कानुनी उपचार, आश्रय, पूर्णस्थापना कामहरू सञ्चालन गर्नुका साथै पीडितहरूको पहिचान गोप्य राख्ने काम केन्द्रले गर्दै आएको बताउनु भयो । उहाँले सङ्कट व्यवस्थापन केन्द्रमा पीडितहरू सबैभन्दा धेरै आफै आउने गरेको, त्यसपछि प्रहरी र नागरिक समाज मार्फत आउने गरेको बताउनु भयो । नेपाल सरकारद्वारा लैङ्गिक हिंसा पीडितहरूलाई सम्बन्धित सबै कार्यालयहरूको सहयोगमा आवश्यक सबै सेवाहरू पूर्ण रूपले निःशुल्क उपलब्ध गराउन स्थापना भएको केन्द्र हो ।


प्रकाश पौडेल