एआरटी औषधि पायक पर्ने स्थानबाट वितरण नहुँदा सङ्क्रमितलाई सास्ती
एच.आइ.भि.सङ्क्रमितहरुले नियमित सेवन गर्ने एआरटी औषधि पायक पर्ने स्थानबाट वितरण हुन नसक्दा सङ्क्रमितलाई सास्ती भएको छ ।
पायक पर्ने स्थानबाट एआरटी औषधि उपलब्ध नहुँदा कतिपय सङ्क्रमितहरू औषधि सेवन गर्नबाट नै वञ्चित हुनुपरेको छ । मध्यविन्दु जिल्ला अस्पतालमा नै एआरटी औषधि उपलब्ध भएमा पायक पनि पर्ने र अन्य उपचार सेवा लिन पनि सहज हुने सङ्क्रमितहरू बताउँछन् ।
एक जना सङ्क्रमित पुरुषले जिल्ला अस्पतालबाट नै एआरटी औषधि उपलब्ध हुन सकेमा सबैलाई पायक पनि पर्ने बताउनुभयो । ‘म त कावासोतीमा बस्छु । मलाई पनि चोरमारा औषधि लिन जान अपायक हुन्छ, अहिले बाटोघाटो कारण धुलोधुवाँले निकै समस्या पारेको छ । हामी सङ्क्रमितले धुलोधुवाँबाट बच्नुपर्छ नत्र झनै स्वास्थ्यमा असर गर्छ । दिनहुँ सेवन गर्नुपर्ने औषधि भएको कारण नियमित रुपमा ल्याउनुपर्छ अरुलाई लिन जान भन्न पनि नमिल्ने धेरै गाह्रो भएको छ । ’ उहाँले भन्नुभयो ।
यस्तै अर्की सङ्क्रमितले पनि जिल्ला अस्पतालबाट नै एआरटी औषधि उपलब्ध भएमा सङ्क्रमितका लागि अन्य कुरामा पनि सहज हुने बताउनुभयो । ‘अहिले सङ्क्रमितहरू धेरैले बीमा गर्नुभएको छ । जिल्ला अस्पतालमा बेलाबेलामा उपचारका लागि आउनुपर्छ ल्याब टेस्ट गर्नुपर्छ । जिल्ला अस्पतालबाटै औषधि पनि उपलब्ध भए सबै कुरा एकैठाउँबाट पाउथ्याैँ । छुट्टै भाडा खर्च गरेर औषधि लिनका लागि मात्रै चोरमारा जानुपर्दैनथ्यो । दैनिक रुपमा मजदुरी गरेर खाने हामीलाई एक दिन नै खर्च गरेर औषधि लिन जानुपर्दा धेरै गाह्रो भएको छ । ’ उहाँले भन्नुभयो ।
जिल्लामा एच.आइ.भि.सङ्क्रमितको क्षेत्रमा काम गर्दै आएको संस्था लुम्बिनी प्लसकी अध्यक्ष निर्मला पौडेलका अनुसार नवलपुरमा ४ सय ५० जना सङ्क्रमितहरू एआरटी औषधि सेवन गर्छन् । तर पायक पर्ने स्थानबाट औषधि उपलब्ध नहुँदा कतिपयले नियमित रुपमा औषधि सेवन गर्ने गरेका छैनन् ।
पश्चिममा बिनयी त्रिवेणी गाउँपालिका र पूर्वमा गैडाकोट, देवचुली, कावासोती नगरपालिकामा रहेका सङ्क्रमितलाई चोरमारा स्वास्थ्यचौकी पुग्न पायक नपर्ने हुँदा कतिपय सङ्क्रमितले औषधि सेवन गर्नै छाडेको पौडेलले बताउनुहुन्छ । बुलिङ्टार, बौदीकाली गाउँपालिकाका सङ्क्रमितलाई चोरमारा पुग्न अझै गाह्रो हुने गरेको पौडेलको भनाई छ । धेरैजसो सङ्क्रमितहरू विपन्न परिवारको भएका कारण भाडा खर्च गरेर औषधि लिन जान समेत नसक्ने बताउने गरेको उहाँले बताउनुभयो । कतिपय सङ्क्रमितले भने भरतपुर र पश्चिम नवलपरासी पुगेर औषधि ल्याउने गरेको उहाँले बताउनुभयो ।
जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जिल्ला अस्पतालको भवन अभाव हुँदा एआरटी वितरण गर्न गाह्रो भएको बताउनुभयो । यस विषयमा धेरै पटक कुरा उठेको र छलफल समेत गरिएको भए पनि अस्पतालमा पर्याप्त कोठाहरू नहुँदा समस्या भएको उहाँको भनाई छ । अस्पतालको नयाँ भवन निर्माणको चरणमा रहेकाले भवन सम्पन्न भएपछि भने सेवा दिन सकिने उहाँले बताउनुभयो ।
लुम्बिनी प्लसकी अध्यक्ष निर्मला पौडेलले भने सानो एउटा कोठाबाट पनि सेवा दिन सकिने भएकाले जिल्ला अस्पतालले व्यवस्थापन गरिदिएमा सहज हुने बताउनुभएको छ । अस्पतालको भवन बन्न कति वर्ष लाग्ने हो, त्यतिबेलासम्म सङ्क्रमितले सास्ती भोग्नुपर्ने भएकाले अस्थाई रूपमै भएपनि तत्काल व्यवस्थापन गर्नका लागि अनुरोध गर्नुभएको छ ।
ज्ञानु पंगेनी
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…