उहिलेको बालविवाहले अहिले पश्चताप

  ०८१ साउन १५ गते 

दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म बालविवाह मुक्त गर्ने नेपाल सरकारको योजना रहेको छ । तर उहिलेदेखि अहिलेसम्म समाजमा बालविवाह हुने गरेका छन् ।

कनकासुन्दरी गाउँपालिका–६ लाहार्ज गाउँकी देउरूपा कामी ५० वर्षकी हुनु भयो । उहाँ तीन सन्तानकी आमा हुनुहुन्छ । देउरूपाका तीन छोरा छन् । उहाँको १३ वर्षको कलिलै उमेरमा विवाह भएको थियो । जतिबेला उहाँ एक पटक मात्र रजस्वला हुनु भएको थियो ।
सानै उमेरमा विवाह गरेका कारण उहाँ अहिले पश्चतापमा पर्नु भएको छ । माइतीको गरिबी, आर्थिक अवस्था कमजोर भएका कारण बालविवाह गरेर शिक्षा, रोजगारको अबसरबाट बन्चित भएपछि उहाँ अहिले निकै पछुतोमा हुनुहुन्छ ।

उहाँ भन्नु हुन्छ, ‘पहिला देखासिकि, अशिक्षा, आमाको करकापले सानैमा विवाह गरियो । अहिले सबै क्षेत्रबाट बन्चित भईयो ।’ अन्जानमा बालविवाह गरेर पश्चतापमा रहेकी देउरूपा भुलेरपनि अरुलाई बालविवाह नगर्न सुझाउदै आउनु भएको छ ।

उहाँले भन्नुभयो, हालसालै यही गाउँकी किशोरीले २० वर्ष उमेर नपुगी बालविवाह गरिन् । उनको बच्चासमेत जन्मिएको छ । तर उनले बालविवाह गरेकै कारण बच्चाको जन्मदर्ता, विवाह दर्ता कार्डसमेत बनेको छैन । बच्चाको जन्मदर्ता कार्ड नभएकै कारण बालपोषण भत्ताबाट बञ्चित हुनु परेको छ ।

त्यस्तै कनकासुन्दरी गाउँपालिका–६ लाहर्ज गाउँकै एकुमाया हमालले पनि १३ वर्षकै उमेरमै विवाह गर्नु भयो । ४० वर्षीया हमाल १७ वर्षको उमेरमा पहिलो सन्तानको आमा बन्नु भयो । आफूले बालविवाह गरेको भएपनि अरूलाई बालविवाह नगर्न आग्रह गर्दै आउनु भएको छ । उहाँ पनि अहिले उहिले गरेको बालविवाहका कारण पश्चतापमा हुनुहुन्छ ।

आफुले सानैमा विहे गरेपनि तीन सन्तानकी आमा बन्नु भएकी हमाल २० वर्ष पुगेर भन्दा पनि सक्षम भएर मात्रै छोरा छोरीलाई विवाह गर्न लगाउने बताउनु हुन्छ ।

सोही गाउँकी निरमाया हमालको भोगाई भने बेग्लै छ । उहाँको २० वर्ष पुगिसकेपछि प्रेम विवाह भएको थियो । उहाँले पढ्दा पढ्दै विहे गर्नुभयो । तर अहिले बीचमै पढाइ छोडेर बिहे गरेकोमा निकै दुखित हुनुहुन्छ । उहाँ भन्नु हुन्छ, ‘संगैका साथी पढीरहेका छन् । कोही पढेर जागिरे पनि भए । म भने दुई बच्चाको आमा बने । अहिले ठुलो पश्चाताप छ । अशिक्षा गरिबीले गर्दा बढ्दो बालविवाह रोक्न अब सबै जुट्नु पर्छ ।’
गाउँघरमा चेतनाको विकास भएपनि गरिबी अन्त्य नहुँदा विपन्नलाई उत्पादनसँग नजोड्दा बालविवाह ज्यूँका त्यूँ रहेको उहाँको भनाई छ । बालविवाह न्यूनीकरणका लागि नीतिगत क्षेत्रमा जोड दिनुपर्ने उहाँले बताउनु भयो ।

कनकासुन्दरी गाउँपालिका–६ का देउरूपा, एकुमाया, भुल्लो र निरमाया त प्रतिनिधि पात्र मात्र हुन् । उक्त गाउँका अधिकांशले बालविवाह गरेका थिए । उनीजस्तै कनकासुन्दरीका सयौ महिला विगतमा गरेको बालविवाहले अहिले पछुतोमा छन् ।

कनकासुन्दरी गाउँपालिकाले गैरसरकारी संस्था आत्म सम्मानका लागि सहकार्य (क्याड नेपाल) जुम्लासँग सहकार्य गरेर बालविवाह न्यूनीकरणका लागि विभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै आएपछि बालविवाहले हुने हानी नोक्सानीबारे सचेत भएका छन् । जसका कारण गाउँका किशोर किशोरीलाई समेत बालविवाह नर्गन सम्झाउन थालिएको प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो, पहिला भन्दा न्यूनीकरण हुदै आएको छ । अझै यसमा सबैको हातेमालो हुन आवश्यक रहेको छ ।


मानदत्त रावल