उम्मेदवारविरूद्ध पक्राउ पूर्जी जारी

  ०७९ वैशाख २१ गते

लिखु गाउँपालिकामा स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएका मिलनकुमार विष्ट (मनिष) विरूद्ध पक्राउ पूर्जी जारी गरिएको छ ।

विष्टविरूद्ध भक्तपुर जिल्ला अदालतले बैकिङ्क कसुर तथा दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा पक्राउ पूर्जी जारी भएर प्राप्त भएको जिल्ला प्रहरी काार्यालयका डिएसपी सुकदेव खनालले बताउनु भएको छ ।

लिखु गाउँपालिका–९ का विष्टविरूद्ध ०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भएको डिएसपी खनालको भनाइ छ ।

काठमाण्डौं जिल्ला प्रशासन कार्यालयबाट मिलनकुमार विष्ट र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयबाट होमबहादुर बिष्टको नाममा दोहोरो लिएको आरोपमा काठमाण्डौं प्रहरी परिसरले पक्राउ पूर्जी जारी गरेको डिएसपी खनालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।

नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनु भएका अशोक कार्कीले विष्टविरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा दोहोरो नागरिकता लिएको विषयमा वैशाख १३ गते उजुरी दर्ता गराएको लिखु गाउँपालिकाका निर्वाचन अधिकृत राजेशकुमार थापाले बताउनु भयो ।

अध्यक्ष पदका उम्मेदवार विष्टविरूद्ध पक्राउ पूर्जी जारी भएको र सोको सूचना समेत प्राप्त भएकाले गिरफ्तारीका लागि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुकदेव खनालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।


सरस्वती बानिया