उम्मेदवारको हत्या प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

  ०७४ असार ५ गते

मार्मा गाउँपालिका-५ का नेकपा एमालेका तर्फबाट वडा सदस्य पदका उम्मेदवार २७ वर्षीय कमलसिंह बोहरालाई हत्या प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा असार ५ गते आरोपितविरूद्ध उजुरी दिइएको छ ।

Photo20170619Darchula

असार ४ गते उम्मेदवार मनोनयनको क्रममा एमाले कार्यकर्ता र उम्मेदवारमाथि नेकपा माओवादी केन्द्रले सुनियोजित तरिकाले हमला गरेको भन्दै आठ जना माओवादी कार्यकताको नाममा किटानी उजुरी परेको हो ।

झडपमा संग्लन रहेका नेकपा माओवादी केन्द्रका वाइसिएल जिल्ला इन्चार्ज एवम् मार्मा गाउँपालिका-१ का जयसिह महर, कमलेशसिह ठगुन्ना, वडा नम्बर २ का नरबहादुर विष्ट, वडा नम्बर-३ का केशरसिंह धामी, वडा नम्बर-४ का करबीरसिंह धामी, डम्मरसिंह धामी, धनसिंह धामी र वडा नम्बर-६ का शङ्करसिह धामीको नाममा किटानी उजुरी दिइएको नेकपा एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्तीले जानकारी दिए ।

Photo20170619Darchula1

असार ४ गते भएको झडपमा नेकपा एमालेका १२ जना भन्दा बढी कार्यकर्ता घाइते भएका थिए । घाइतेमध्ये वडा सदस्य पदका उम्मेदवार कमलसिंह बोहरालाई सोमबार जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसकेपछि कोहलपुर 'रिफर' गरिएको छ । बोहराको टाउकोमा गम्भीर चोट लागेको छ । टाउकोमा चोट भएको कारण सिटीस्क्यान नगरी भित्रको चोट हेर्न नसकिने भएपछि 'रिफर' गएकिो डा. रविरञ्जन शाहले जानकारी दिए ।

Photo20170619Darchula2

सोही ठाउँका गोपालसिंह महता र अमरसिंह बोहराको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । एमालेले जनाएअनुसार गौमती ठगुन्ना, अम्बिका धामी, परमा ठगुन्ना, कमल बोहरा, उदय महता, अमरसिंह महता, जयसिंह महता, राजमती जोशी घाइते भएका छन् ।

असार ५ गते बिहान नेकपा एमालेले घाइतेहरू राखेर पत्रकार सम्मेलनको आयोजना गरी घट्नाका दोषीहरूलाई कारबाही गर्न माग गरेको छ ।

Photo20170619Darchula3

एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्तीले लटिनाथमा नेकपा माओवादी केन्द्रले आफ्ना कार्यकर्ता माथि सुनियोजित ढङ्गले आक्रमण गरेको बताए । ३ बजे उम्मेदवारी मनोनयन गर्न जाने क्रममा एमाले कार्यकर्ता र उम्मेदवारमाथि ढुङ्गा, छड र खुकुरी प्रहार भएको आरोप लगाइएको छ ।

घट्नाका प्रत्यक्षदर्शी एवम् नेकपा एमालेले जिल्लाबाट खटाएका दार्चुला बहुमूखी क्याम्पस स्ववियुका पूर्व सभापति रमेशराज भट्टका अनुसार प्रहरीको फितलो सुरक्षाका कारण घटना घटेको हो । 'एमालेको जुलुस अघि बढिरहेको बेला ३/४ जना म्यादी प्रहरी मात्र थिए । प्रहरी र सशस्त्र प्रहरी त्यहाँ थिएनन् ।'-उनले भने ।

नेकपा एमालेले प्रहरी इन्स्पेक्टर रणबहादुर चन्दको भूमिका शङकास्पद भएको भन्दै फिर्ता बोलाउन समेत माग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी केदार खनालले घटनालाई गम्भीरताका साथ लिएको बताए । घटनाको अनुसन्धानका लागि असार ५ गते नै प्रहरी इन्स्पेक्टर अनिश बुढाथोकी नेतृत्वको टोली मार्मा गाउँपालिकाको लटिनाथ पठाइएको खनालले बताए ।


नरेन्द्रसिंह कार्की