उम्मेदवारको मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सुरू

पहिलो चरणमा आगामी मङ्सिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको दर्ता शान्तिपूर्ण रूपमा सुरु भएको राससले जनाएको छ ।

उम्मेदवारी मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले मनोनयनको फाराम लैजानाका साथै उम्मेदवारी दर्ता गर्ने क्रम शुरु भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कात्तिक ५ गते उम्मेदवारी दर्ता भइरहेको छ । मनोनयन दर्ता कार्यक्रम बिहान १० देखि सुरू भएको र साँझ ५ बजेसम्म चल्ने छ ।

पहिलो चरणमा निर्वाचन हुने जिल्लामा सोलुखुम्बु, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखा, रुकुम (पूर्वी भाग), रोल्पा, रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले मनोनयनपत्रका साथ नेपाली नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, धरौटी जम्मा गरेको रसिद वा भौचर र दलको उम्मेदवारका हकमा आधिकारिक हस्ताक्षरसहितको औपचारिकपत्र बुझाउनुपर्ने छ । मनोनयनपत्रमा प्रस्तावक, समर्थक तथा उम्मेदवारको सहीछाप गरी पेश गर्नुपर्छ ।

धरौटी रकमका हकमा प्रतिनिधि सभा सदस्यका लागि रू १० हजार र प्रदेश सभा सदस्यका लागि रू ५ हजार निर्धारण गरिएको छ । महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारका हकका धरौटी रकममा ५० प्रतिशत छूट हुने व्यवस्था रहेको आयोगले जनाएको छ ।

प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन सोही प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने छ ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिले मनोनयन गर्न नपाइने कानुनी व्यवस्था छ ।

एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्ने छ । एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएमा त्यस्ता उम्मेदवारको सबै क्षेत्रको उम्मेदवारी बदर हुने व्यवस्था छ । आगामी मङ्सिर २१ गते निर्वाचन हुने बाँकी ४५ जिल्लामा यही कात्तिक १६ गते मनोनयन दर्ताको कार्यक्रम छ ।


अनलाइन डेस्क