उम्मेदवारको घरमा बम राखेको आरोपमा पत्रकारसहित चार जना गिरफ्तार

स्थानीय निर्वाचनमा कुश्मा नगरपालिकाका नेपाली काङ्ग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार रामचन्द्र जोशीको घरमा वैशाख २१ गते सकेट बम राखेको आरोपमा पत्रकार गोपाल जिसीसहित चार जनालाई प्रहरीले वैशाख २१ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुने अन्यमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज ओमबहादुर पुन 'हिमाल', जिल्ला सेक्रेटरी 'अल्बर्ट', जिल्ला सल्लाहकार ओमप्रसाद पन्त, जिल्ला सदस्य यज्ञ गौतम रहेका छन् ।

कुश्मा नगरपालिका-५, लोकतान्त्रिक चोकस्थित जोशीको घरको कार्यालय रहेको कोठामा शङ्कास्पद बस्तु देखिएपछि उनका परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी शेखर खनालले जोशीको घरमा भेटिएको शङ्कास्पद बस्तु बम रहेको आशङ्कामा डिस्पोज गरिएको बताएका छन् । उनले दिएको जानकारी अनुसार डिस्पोज गरिएको उक्त बस्तु सकेट बम भएको पुष्टि भएको छ ।


किशेार सापकोटा