उम्मेदवारको गाडीमा आगजनी प्रयास, एकजना अरोपित गिरफ्तार

  ०७४ मङ्सिर ११ गते

चितवनमा निर्वाचनको मिति नजिकिँदै गर्दा चुनाव विरोधी गतिविधि बढेका छन् । सर्वसाधरणलाई आतङ्कित पार्ने र उम्मेदवारलाई लक्षित गरी आक्रमणका घटना सार्वजनिक भइरहेका छन् । यस्ता गतिविधिमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको चितवन प्रहरीले जनाएको छ ।

मङ्सिर ११ गते बिहान ४ बजेको समयमा रत्ननगर नपा-२ स्थित चितवन क्षेत्र नम्बर १ राप्रपा तर्फबाट प्रत्यक्ष उम्मेदवार पिताम्बर आचार्यले चुनाव प्रचारका लागि प्रयोग गरको ना १ ज ५२७५ नम्बरको गाडीमा आगजनीको प्रयाससमेत भएको छ ।

मट्टितेल छर्केर आगो लगाउँदै गरेको अवस्थामा उम्मेदवार आचार्यले पानी हाली निभाएका थिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा सो पार्टीका कार्यकर्ता चितवन रत्ननगरका ४२ वर्षीय गञ्जसिंह गुरूङलाई आजै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दिपक थापाले बताए ।

उम्मेदवार लक्षित गरी भएको उक्त आगजनी प्रयासको राप्रपा चितवनका अध्यक्ष दिलिप पाण्डेले विज्ञप्ति प्रकाशन गरी भत्सर्ना गरेका छन् ।


दिपेन्द्र अधिकारी