उपसभामुख र नेपाल टेलिभिजनका अध्यक्षसँग २४ घण्टे स्पष्टीकरण माग

  ०७४ भदौ २७ गते

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका व्यवस्थापिका संसद्का उपसभामुख गङ्गाप्रसाद यादव र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

प्रदेश नम्बर-२ मा हुन लागेको तेस्रो चरण निर्वाचनका क्रममा सप्तरी जिल्लाको निर्वाचनको प्रचारप्रसारमा उपसभामुख यादवले निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटका गाडीहरू प्रयोग गरेकाले स्पष्टीकरण मागिएको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।

आयोगमा प्राप्त सूचना अनुसार व्यवस्थापिका संसद्को उपसभामुख पदमा आसिन व्यक्तिले आचारसंहिता विपरीत चुनाव प्रचारप्रसार गरेकाले २४ घण्टाभित्र आयोग समक्ष स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको उनले बताए ।

यसैगरी नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष दाहालसँग भदौ २६ गते नेपाली काङ्ग्रेसले ललितपुरमा आयोजना गरेको राजनीतिक कार्यक्रममा उपस्थित रहेकोले स्पष्टीकरण मागिएको आयोगले जनाएको छ ।

नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष पदमा रहेको पदाधिकारी कुनै दल विशेषले आयोजना गरेको राजनीतिक कार्यक्रममा संलग्न हुने कार्य निर्वाचन आचारसंहिता विपरीतको कार्य भएकाले निर्वाचन आचारसंहित उल्लङ्घन भएको निष्कर्षसहित आयोगले दाहालसँग २४ घण्टाभित्रमा स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको आयोगका प्रवक्ता ढकालले बताए ।


सुभाष साह