उपल्लो डोल्पाका मतदान केन्द्रमा कर्मचारी खटाउन चुनौती

  ०७९ कात्तिक १८ गते

हिमपातले अवरुद्घ भएका उपल्लो डोल्पाका विभिन्न नाका नखुलेपछि मतदान केन्द्रमा मतदान कर्मचारी खटाउन चुनौती भएको छ । गएको असोज महिनाको अन्तिम हप्तामा परेको अविरल वर्षापछि आएको हिमपातले अवरुद्घ नाकाहरू नखुलेपछि कर्मचारी खटाउन चुनौती देखिएको हो ।

डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीका अनुसार माथिल्लो डोल्पामा पर्ने शे फोक्सुण्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिकाको तिन्जे, छार्काताङसोङ गाउँपालिकाको छार्कामा पर्ने मतदान केन्द्रमा हेलिकोप्टरको व्यवस्था नभइकन मतदान कर्मचारी पठाउन सकिने अवस्था छैन ।

मुख्य निर्वाचन अधिकृत सुवेदी भन्नुहुन्छ “उपल्लो डोल्पामा पर्ने तीन ओटा गाउँपालिकामा रहेका मतदान केन्द्रमा पुग्न सदरमुकाम दुनैदेखि एक हप्ता लाग्ने गर्छ ।”

माथिल्लो डोल्पाका मतदान केन्द्रमा निर्वाचन सामाग्री र कर्मचारी पठाउनका लागि सम्बन्धित निकायमा हेलिकोप्टर व्यवस्थाका लागि निर्वाचन आयोग र गृह मन्त्रालयमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले बताउनु भयो ।

उपल्लो डोल्पामा रहेका ३० ओटा मतदान केन्द्र सुरक्षाका दृष्टिकोणले अत्यान्तै संवेदनशिल भएकाले सुरक्षा ब्यवस्थालाई मजबुत बनाउन जिल्ला सुरक्षा समितिमा छलफल भइरहेको निर्वाचन अधिकृत सुवेदीले बताउनु भयो ।

उत्तरी सीमा चीनसँग जोडिएका उपल्लो डोल्पाका केही मतदान केन्द्रमा विगतका निर्वाचनमा मतदाताले मतदान गर्न नपाउने तथा वारेसमा एक÷दुई जनाले मात्र मतदान गर्ने गरेको हल्ला व्यापक भइरहेको बेला यसलाई रोक्न निर्वाचन टोलीले गम्भिर रुपमा विश्लेषण गरिरहेको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीले बताउनु भयो ।

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि डोल्पामा ६६ ओटा स्थाई र दुई ओटा अस्थाई गरी ६८ ओटा मतदान केन्द्र रहेका छन । डोल्पाको मतदाता सङ्ख्या २२ हजार ७ सय ७४ रहेको छ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्नको लागि डोल्पामा ४ सय जना कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ


विष्णुप्रसाद देवकोटा