उपभोक्ता अधिकारबारे आयोगद्वारा अनुगमन

  ०७३ असोज १४ गते

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङको टोलीले ओखलढुङ्गामा उपभोक्ता अधिकारको अवस्थाबारे असोज १४ गते अनुगमन गरेको छ ।

उपभोक्ताको अधिकार अन्तर्गत खाद्य पदार्थको उपलब्धता, राज्यले प्रवाह गर्ने सेवा, यातायात सेवा, अत्यावश्यक बस्तु तथा सेवाको अवस्थाका बारेमा अनुगमन गरेको हो ।

अनुगमन टोलीसँग यातायातको समस्या देखाएर उपभोक्ता ठगी गर्ने क्रम बढेको, सरकारी निकायले अनुगमन नगरेको, म्याद गुज्रिएका खाद्य पदार्थ विक्री वितरण भएको र बजारमूल्य बिक्रेताले नै निर्धारण गर्ने गरेको उपभोक्ताहरूले गुनासो गरेको आयोगका मानव अधिकार अधिकृत दिपक घिमिरेले बताए ।

अनुगमन पछि सो टोलीले इन्सेक प्रतिनिधि, नागरिक समाजका संस्थाहरू र सञ्चारकर्मीहरूसँग छलफल गरेको छ । इन्सेकसँगको छलफलमा आयोगको टोलीले जिल्लामा उपभोक्ताको अधिकारको अवस्था र राज्यका निकायको भूमिकाका बारेमा अन्तरक्रिया भएको थियो ।

बजार अनुगमन, मूल्य सूची, यातायात क्षेत्रमा भाडादरको एकरूपता नहुनु र बजार अनुगमन नहुँदा उपभोक्ताको मानव अधिकार सङ्कटमा परेको अनुगमन टोलीले निष्कर्षनिकालेको बताइएको छ ।


शिवप्रसाद ढुङ्गाना