उपभोक्ता अधिकारको लागि उजुरी डेक्स व्यवस्था गर्नु पर्ने माग

उपभोक्ता अधिकारको लागि उजुरी डेक्सको व्यवस्था गर्नु पर्ने माग एक कार्यक्रमका सहभागीहरूले गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय जनकपुरले माघ १८ गते जनकपुरमा आयोजना गरेको उपभोक्ता अधिकारको सवाल विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो माग गरेका हुन् ।

आयोगका सदस्य सुदिप पाठकले व्यवसायीलाई सेवाभावले काम गर्न र उपभोक्तालाई जागरुक हुन आग्रह गरे । घरघरमा मानव अधिकारको अवस्था निर्माण गर्न हरेक व्यक्ति सचेत हुनुपर्ने आयोगका सदस्य पाठकले बताए ।

photo20170131dhanusha

आयोगका सदस्य पठकले भने-'राजनीतिक खिचातानी भइरहेको अवस्थामा मुलुकमा दण्डहीनता र अपराध पनि बढेको छ । आफ्नो अधिकार खोज्नुस् । तर, अर्काको अधिकार हनन् नहोस् भन्ने विषयमा पनि सचेत हुनुस् ।'

कार्यक्रममा इन्सेकद्वारा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूह धनुषाका संयोजक सुरेश यादवले पटकपटक जनकपुरका उपभोक्ताहरू ठगिने गरेको र गुणस्तरहीन वस्तु उपभोग गरिरहेकोले उपभोक्ता अधिकारको लागि उजुरी डेक्स व्यवस्था हुनु पर्ने माग गरे ।

वरिष्ठ पत्रकार राजेश्वर नेपालीले राजनीतिक सङ्क्रमणको आडमा सामाजिक उदण्डता बढेको उल्लेख गर्दै व्यवसायीहरूले लुट मच्चाएको बताए । 'अहिलेको समाजमा सेवाभाव त पाउनै मुश्किल भयो'-उनले भने ।


विनोदकुमार रविदास