उपभोक्ताको मानव अधिकार सङ्कटमाः सरोकारवाला   

राष्ट्रिय मानव अधिकार आयोगले मङ्सिर २ गते विदुरमा आयोजना गरेको 'उपभोक्ताको मानव अधिकारको अवस्था' विषयक अर्न्तक्रिया कार्यक्रमका सहभागीहरूले सम्बन्धित निकायले प्रभावकारी अनुगमन नगर्दा उपभोक्ताको मानव अधिकार सङ्कटमा परेको आरोप लगाएका छन् ।

राजनीतिक दलका जिल्लास्तरीय नेताहरूले अनुमगन प्रभावकारी नहुँदा बजारमा अखाद्य वस्तुको बिक्री वितरण भइरहेको तथा बढी मूल्यमा सामान किन्न बाध्य हुनुपरेको बताएका छन् ।

नेपाली काङ्ग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले उपभोक्ताहरूमा चेतनाको अभाव र प्रशासनले नियमित बजार अनुगमन नगर्दा उपभोक्ताहरू गुणस्तरहीन र म्याद सकिएका बस्तुहरू उपभोग गर्न बाध्य भएको बताए । उनले चार्डपर्वको बेलामा मात्र प्रशासनले अनुमगन गरेको जस्तो मात्र गर्ने र अरू बेलामा नगर्ने हुँदा समस्या समाधान नभएको आरोप लगाए ।

नेकपा एमालेका जिल्ला सदस्य यमकुमार खातीले बिक्रेताहरू उपभोक्ताप्रति उत्तरदायी नभएको आरोप लगाए । प्रशासनले क्यालेण्डर नै बनाएर अनुगमन गर्नु पर्नेमा उनको जोड थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अनुमगन अधिकृतहरू दिपेन्द्र सिंह, वीरबहादुर बुढामगर, किरण घिमिरेले सहजीकरण गरेको कार्यक्रममा स्वास्थ्यकर्मी, व्यवसायी, उपभोक्ता अधिकारकर्मीहरूले आआफ्ना धारणा राखेका थिए ।


नवदीप श्रेष्ठ