उपनिर्वाचन २०८१– बझाङ क्षेत्र नम्बर १ प्रदेश सभा सदस्य निर्वाचनका लागि १९ ओटा दल दर्ता

  २०८० चैत ७

बझाङ क्षेत्र नम्बर १ मा ०८१ वैशाख १५ गते प्रदेश सभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले मिति तोकेसिट १९ ओटा दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने दलहरुलाई दल दर्ताको लागि ०८० फागुन २४ गतेदेखि फागुन ३० गतेसम्मका लागि दर्ताको समय दिएपछि बझाङ जिल्लाका १९ ओटा राजनीतिक दलहरुले आवेदन दिएका हुन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चैत ५ गते विज्ञप्ति जारी गर्दै राजनीतिक दलसम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको जानकारी  दिनुभएको छ ।

उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता ०८० चैत २४ गतेलाई तोकिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिन्ह् वितरणको कार्यक्रम छ । चैत २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ ।

चैत २२ गते मुख्य निर्वाचन अधिकृत नियुक्तगरी त्यसै दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदैछ । ०८० चैत २८ गतेदेखि ०८१ वैशाख १२ गतेसम्म चुनवा प्रचारको अवधि राखिएको छ । वैशााख १२ गते मध्यरातिदेखि मौन अवधि रहने छ । ०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ ।

बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको ०८० असार ५ गते गाढी दुर्घटनामा परी निधन भएपछि रिक्त प्रदेशसभा सदस्य पदका लागि आयोगले निर्वाचनको मिति तोकेको हो ।

बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत साइपाल गाउँपालिका, तलकोट गाउँपालिका, मष्टा गाउँपालिका, सुर्मागाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, जयपृथ्वी नगरपालिका, थलारा गाउँपालिकाको ९ नम्बर वडा समेटिएको छ ।

प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि ९३ ओटा मतदान केन्द्र र ७४ ओटा मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ ।


सत्यराज सिंह