उपनिर्वाचन ०८१– इन्सेकद्वारा निर्वाचन पर्यवेक्षण सम्पन्न

  २०८१ वैशाख १६

इलाम निर्वाचन क्षेत्र न.२ मा र बझाङ्गमा वैशाख १५ गते भएको उपनिर्वाचनको इन्सेकले निर्वाचन पर्यवेक्षण सम्पन्न गरेको छ ।

इलाम निर्वाचन क्षेत्र न.२ मा इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रपतिका पूर्व सल्लाहकार सुशील प्याकुरेल, इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम, इन्सेक कोशी प्रदेश कार्यालयका प्रमुख सोमराज थापा, प्रलेख अधिकृत पुण्य अधिकारी, इलाम प्रतिनिधि मनोज अधिकारी र ६ जना पर्यवेक्षकमार्फत इन्सेकले निर्वाचन पर्यवेक्षण सम्पन्न गरेको हो ।

बझाङ्गमा इन्सेक सूदुरपश्चिम कार्यालयका प्रमुख खड्कराज जोशीलगायतको पर्यवेक्षण समूहले प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण सम्पन्न गरेको छ ।

इलाममा मतदान सुरु हुँदादेखि सकिँदा सम्म

इलाम क्षेत्र नं २ को उपनिर्वाचन वैशाख १५ गते सम्पन्न भएको छ । २०७९ मङ्सिर ०४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र–२ बाट निर्वाचित सांसद संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको ०८० भदौ २६ गते निधन भएपछि रिक्त रहेको पदपूर्ति गर्न राष्ट्रिय निर्वाचन आयोगले ०८१ वैशाख १५ गते उपनिर्वाचन गराउने गरि ०८० फागुन १३ गते मिति तोकेको थियो ।

विहान ७ बजे देखि ५ बजेसम्म मतदान

वैशाख १५ गते विहान ७ बजेबाट सुरु मतदान साँझ ५ बजे सम्पन्न भयो । १२ राजनीतिक दलका १२ र ७ स्वतन्त्र गरि १९ जना उम्मेद्वार छन् । ५९ हजार १८ जना पुरूष, ५६ हजार ८ सय ६९ जना महिला र लैङ्गिक यौनिक तथा अल्पसङ्ख्यक दुई गरी कुल १ लाख १८ हजार ८ सय ८९ जना मतदाता मध्ये ६० प्रतिशत अर्थात ६९ हजार २ सय ८७ मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभएको छ । ती मध्ये ३५ हजार १ सय ३५ पुरुष, ३४ हजार १ सय ५० महिला र लैङ्गिक यौनिक तथा अल्पसङ्ख्यक दुई जनाले मतदान गरे ।

इलाम क्षेत्र २ मा जिल्लाका ६ ओटा स्थानीय तहका ४२ ओटा वडामा उपनिर्वाचन भएको हो । चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र देउमाइ नगरपालिका पूरै तथा इलाम नगरपालिका (१० ओटा वडाबाहेक) र माइ नगरपालिकाका–६, ७ र ८ वडा पर्दछन् । चुलाचुली गाउँपालिकामा १८ हजार ५ सय ४५ जना, माङसेबुङ गाउँपालिकामा १२ हजार ५ सय ३६ जना, फाकफोकथुम गाउँपालिकामा १६ हजार ३ सय दुई, देउमाई नगरपालिकामा २६ हजार ३ सय ६५, इलाममा (१० वडा बाहेक) ३४ हजार ४५ र माईका– ६, ७ र ८ वडामा ८ हजार ९६ मतदाता रहेको आयोगले जनाएको छ ।

७९ ओटा मतदानस्थल र १ सय ४९ ओटा मतदान केन्द्र तोकिएका थिए। सबै मतदान केन्द्रलाई अति सम्वेदनशीलमा राखेको सुरक्षा समितिले यसपटक निर्वाचन सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था अपनाएको जिल्ला सुरक्षा समितिले जनाएको छ । निर्वाचनमा ७ सय ४५ जना कर्मचारी, १ हजार ५ सय २३ जना नेपाल प्रहरी, ७ सय १० जना सशस्त्र प्रहरी र ७ सय नेपाली सेना र अनुसन्धानका १५ जना शक्ति परिचालन गरिएको छ ।

सप्तमाइ मतदान केन्द्रमा मतदानको जिम्मा महिला कर्मचारीलाई

इलाम निर्वाचन क्षेत्र नं २ अन्तर्गत इलाम नगरपालिका–५ को सप्तमाइ अध्ययन तथा अनुसन्धान मतदान केन्द्रमा मतदान गराउने जिम्मा महिला कर्मचारीलाई मात्र दिइएको थियो । सप्तमाइ अध्ययन तथा अनुसन्धान केन्द्रलाई नमुना मतदान केन्द्रका रूपमा परिभाषित गर्दै मतदानको सबै जिम्मेवारी महिला कर्मचारीलाई मात्रै दिइएको हो ।

उक्त केन्द्रका मतदान अधिकृत सहायक मतदान अधिकृत र मतदान कर्मचारी सबै महिला रहनुभएको थियो । ५ सय ४५ जना मतदाता रहेको उक्त केन्द्रमा पाँच जना महिला कर्मचारी खटाइएको हो । उक्त केन्द्रमा स्वास्थ्यकर्मी तारा श्रेष्ठलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको थियो भने सो केन्द्रमा महिला प्रहरी मात्र खटाइएको थियो ।

इलाममा रास्वपाका उम्मेदवारबाट आचारसंहिता उल्लङ्घन

रास्वपाका उम्मेदवार मिलन लिम्बुले मतदान गर्ने क्रममा निर्वाचन चिन्ह घण्टीको लोगो लगाएर मतदान गर्दै आचारसंहिताको ठाडो उल्लङ्घन गरेको इन्सेकका निर्वाचन पर्यवेक्षक सुनिता राईले बताउनुभयो । उपनिर्वाचनमा मतादान गर्न गएका लिम्बुले आचारसंहिताको उल्लङ्घन गरेको निर्वाचन पर्यवेक्षक राईले बताउनु भएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को परिच्छेद ४ को उपदफा २१ (घ) मा मतदान गर्न जाँदा राजनीतिक दल वा उम्मेद्वारको निर्वाच चिन्ह वा झण्डा अङ्कित कपडा टिसर्ट ज्याकेट गम्छा टोपी वा क्याप, भेष्ट, लोगो ब्याज, मास्क स्टिकर, लगाउन वा झोला बोक्न नहुने उल्लेख छ । तर, रास्वपा उम्मेदवार लिम्बुले भने प्रष्टसँग देखिएको चुनाव चिन्ह घण्टीको ब्याज आफ्नो कोटमा लगाएर मतदान गरेको राईले बताउनु भयो ।

निर्वाचन अनुगमन अधिकृत राजेन्द्र आचार्यले रास्वपाका जिल्ला तहका नेतालाई फोन सम्पर्क गरेर स्पष्टिकरण लिएको बताउनुभयो । ‘उहाँले तत्काल हटाउन लगाउने भनेपछि थप केही भएन । अहिले करेक्सन भैसकेको छ ।’ अनुगमन अधिकृत आचार्यले भन्नुभयो– ‘स–साना गल्ती समेत नोटिस् हुने हुँदा चनाखो हुन र आचारसंहितालाई पूर्ण कार्यान्वयन गराउन भनिएको छ ।’

इन्सेकद्धारा पर्यवेक्षण उपनिर्वाचनको इन्सेकले पर्यवेक्षण गरेको छ । इन्सेकका संस्थापक अध्यक्ष शुसिल प्याकुरेल, कार्यकारी निर्देशक विजयराज गौतम, कोशी प्रदेश प्रमुख सोमराज थापा, कोशी प्रदेश प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारी लगायतको टिमले विभिन्न मतदान स्थलमा पुगेर अनुगमन गरेको थियो । जिल्लाका ७ जनालाई इन्सेक पर्यवेक्षकका रुपमा विभिन्न मतदान केन्द्रमा खटाईएको थियो ।

मतदान सुरु भएपछि इलाम नगरपालिका–७ स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसको मतदान स्थलमा पर्यवेक्षणका क्रममा मुख्य निर्वाचन अधिकृत केशबप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव लगायतसंग इन्सेक टोलीको छलफल भएको थियो । शान्तिपूर्वक निर्वाचन गराउने गरिको तयारी बारे छलफल भएपछि इन्सेकले अन्य विभिन्न ५ ओटा मतदान केन्द्र्रमा स्थलगत पुगेर रिपोर्टिङ गर्यो । ‘मानिसमा मतदानको उत्साह कम पाईयो ।’ संस्थापक अध्यक्ष प्याकुरेलले भन्नुभयो, ‘विहानीपख त मान्छे देखिएन । दिउँसो बढेको पाईयो तर पनि उत्साह कम नै रहेछ ।’

इन्सेक पर्यवेक्षक सुनिता राईका अनुसार इलाम नगरपालिका–६ पिपलबोटे मतदानस्थलको केन्द्र (कं) र (ख) मा जम्मा १ हजार ४ सय ५५ मतदाता सख्या रहेकोमा ८ सय ५१ मत खसेको छ । मतदान अधिकृत प्रेम काफ्लेले भन्नुभयो, ‘केन्द्र (क) मा जम्मा ४ सय १ मतदातामध्ये १ सय ८३ महिला र २ सय १८ पुरुष मतदाता थिए ।’ केन्द्र (ख) मा जम्मा ४ सय ५० मतदातामध्ये २ सय ३२ महिला २ सय १८ पुरुष रहेको मतदान अधिकृत  हिमज्योति घिमिरेले जानकारी दिनु भयो । मतदान विहान ७ बजे सुरु भएर ५ बजे नै सहज वातावरणमा सम्पन्न भएको छ ।

इन्सेक पर्यवेक्षक नारद चापागाँईका अनुसार महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाम नगरपालिका  वडा नं ७ मा मतदान केन्द्र क ख र ग मा जम्मा २ हजार ९ सय ८१ मतदाता रहेकोमा १ हजार ६ सय ८२ मत खसेको छ । केन्द्र क मा ५ सय ९१ मत खसेकोमा महिला २ सय ९६ र पुरूष २ सय ९५ रहेको मतदान अधिकृत मिना आचार्यले बताउनुभयो ।

इन्सेक पर्यवेक्षक सिर्जना श्रेष्ठका अनुसार महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाम नगरपालिका  वडा नं ७ को केन्द्र (ख) मा ५ सय ३२ ले मतदान गरेको मध्ये २ सय ६१ महिला र २ सय ७१ पुरुषले मतदान गरेका छन् । केन्द्र (ग) मा जम्मा ५ सय ५९ मध्ये २ सय ९८ पुरूष र २ सय ६१ म्हिलाले मतदान गरेको मतदान अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिनुभयो । मतदान ठीक ५ वजे सकिएको थियो ।

इन्सेक पर्यवेक्षक भगिरथ भण्डारीका अनुसार फाकफोकथुम गाउँपालिका–३ स्थित सिहदेवी मा.वि मा १ हजार ४ सय ६६ मध्ये ८ सय ८७ मत खसेको छ । यो मत कुल मतदाताको ६०.५० प्रतिशत हो । अघिल्ला निर्वाचनहरुको तुलनामा यो उपनिर्वाचन कम उत्साहजनक पाईएको छ ।

इन्सेक पर्यवेक्षक सन्देश खड्काका अनुसार इलाम नगरपालिका–८ मा ३ हजार २ सय ४३ मतदाता मध्ये १ हजार ८ सय ४ मत खसेको छ । सिङफिरिङ मतदान केन्द्रमा १ हजार १ सय ६१ मतदातामध्ये ६ सय ७३ मतदाताले मतदान गरेका छन् । तिल्केनी मतदानस्थलमा  २ हजार ८२ मतदातामध्ये १ हजार २ सय २१ जनाले मतदान गरेका छन् ।

इन्सेक पर्यवेक्षक देवीप्रसाद पौडेलका अनुसार  चुलाचुली गाउँपालिका–५ स्थित भानु माबिमा जम्मा मतदाता १ हजार ५ सय ४७ मध्ये ९ सय १४ मत खसेको छ । ती मध्ये महिला ४ सय ५० र पुरुष ४ सय ६४ छन् ।

किरियापुत्रीले गरे मतदान

इलाम–२ मा प्रतिनिधिसभा उपनिर्वाचनमा शनिबार एक जना किरियापुत्रीले पनि मतदान गर्नुभएको छ । आफ्नी आमाको किरिया बसेका रजिन खड्काले दृपादेवी आधारभूत विद्यालय मतदान केन्द्र क मा पुगेर मतदान गर्नुभएको हो । मतदान गर्न पाउने आफ्नो अधिकार प्रयोग गरेर अरु मतदातालाई मतदानको महत्व बुझाउन किरिया बसेको समयमा पनि मतदान केन्द्रमा आएको खड्काले प्रतिक्रिया दिनुभयो ।

मतदानमा महिला सहभागिता उत्साहजनक

इलामको माङसेबुङ गाउँपालिका २ हुलाककी ७९ वर्षीया ज्येष्ठ नागरिक महिला गङ्गादेवी राई बिहानै लठ्ठी टेक्दै नजिकै रहेको जनताकल्याण आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा पुग्नुभयो। ज्येष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने भएकाले स्वयम्सेवकले प्रवेशद्वारबाटभित्र मतदानस्थलमा प्रवेश गराए । उहाँ आफूले मन परेको उम्मेदवार चिह्नमा मतदान गरेर फर्किनुभयो ।

‘यतिका उमेरसम्म दर्जनौँपटक मतदान गरियो, आफूले मतदान गरेकाले  जितेर पनि गए, तर गाउँको विकास भनेजस्तो भएन,’ उहाँले भन्नुभयो, ‘यसपटक पनि मैले मत दिएको उम्मेदवारले जितोस्, तर यसपटक जितेर गएकाले गाउँमा विकासको चाँहि गर्नुपर्छ ।’ गाउँमा बिजुली, खानेपानी र बाटोघाटोको समस्या समाधान गर्नुपर्ने उम्मेदवारसँग उहाँको अपेक्षा छ ।

माङसेबुङ गाउँपालिक २ डाँडागाउँकी अर्की एकल महिला आशमति लिम्बूले पनि उत्साहका साथ मतदान गर्नुभएको छ। पञ्चायतकालदेखि मतदान गर्दै आउनुभएकी उहाँले राम्रो मान्छे जिताउन मतदान गर्दै आएको बताउनुभयो। लठ्ठीको सहारामा आधा घण्टा पैदल हिँडेर मतदान केन्द्रसम्म आइपुग्नुभएकी बेलाबेलामा मतदान गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्ने गरेको बताउनुभयो। ‘आफूलाई मन परेको उम्मेद्वारले जितोस् भन्न सधैँ मतदानमा सहभागी हुने गरेकी छु,’ उहाँले भन्नुभयो, ‘यसरी बेलाबेलामा मतदान गर्न पाउँदा भाग्यमानी ठान्दछु ।’

माङसेबुङ गाउँपालिका ३ सुवाचेनकी ८१ वर्षीय वृद्ध नारायणश्वरी राईको भनाइ पनि उस्तै थियो । ‘उम्मेदवारमध्ये राम्रो र योग्य मान्छेलाई जिताउन मतदान गर्न आएकी छु,’ उहाँले भन्नुभयो, ‘राम्रो र योग्य उम्मेदवार जिताउन मेरो एक मत अमूल्य रहन्छ ।’

उल्लेखित पात्रहरु प्रतिनिधि उदाहरण मात्र हुन् । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज सम्पन्न मतदानमा महिला मतदाताको उपस्थिति उत्साहजनक रहेको थियो । बिरामी, अशक्त, वृद्धवृद्धाले अप्ठ्यारोसमेत बिर्सेर उपनिर्वाचनमा मतदान गर्न मतदान केन्द्रमा पुगेका थिए । महिला मतदाताको सक्रिय उपस्थिति देखिएको थियो ।

त्यस्तै माङसेबुङ गाउँपालिका २ स्थित इभाङ माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि स्थानीय ८४ वर्षीया वृद्धा मैतमाया लिम्बूलाई निर्वाचनको रौनक निकै मन पर्यो । ‘सबै एकैठाउँ भेला भएको देख्न पाएँ, यसरी बेलाबेला निर्वाचन आउँदा त खुब रमाइलो लाग्छ,’ उहाँले भन्नुभयो। यस निर्वाचन क्षेत्रमा कूल मतदाता एक लाख १५ हजार आठ सय ८९ रहेकोमा ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई तेस्रो लिङ्गी मतदाता छन् । यहाँ तोकिएका ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्रमा मतदान भएको छ । ६० प्रतिशत मत खसेको छ । सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

मतदातालाई खानाको कुपन

सबैजसो मतदानस्थलअघि होटल र क्यान्टिनहरुमा मतदातालाई खुवाउन खाना अर्डर गरेको पाईएको छ । अधिकांश राजनीतिक दलहरुले आफ्ना पक्षका मतदाता र अन्यलाई भोट लगाईदिन आग्रह गर्दै खानाको कुपन वितरण गरेको पाईएको हो ।

मतदान केन्द्रभित्र एक्जिट पोल

उपनिर्वाचनमा मतदान केन्द्रभित्रै एक्जिट पोल गराएको भन्दै प्रहरीले केही सामग्रीहरू बरामद गर्यो । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नमुना मतपत्रमा छाप हाल्न लगाउने समूहको सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

नमुना पेटिका जफत गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । तर सन्चालकले एक्जिट पोलको विधिबारे स्पष्ट पार्दै यो आम चुनावी प्रचलन नै भएको बताएपछि मतदाताको गोपनीयता कायम गर्दै एक्जिट पोल सर्भे पुनः सुचारु भयो । मतदानस्थल भन्दा बाहिर सञ्चालन गर्न दिईएको थियो ।

टिपरमा मतदान कर्मचारी र मतपेटिका

इलामको फाकफोकथुम गाउँपालिका–३, आमचोकस्थित सिंहदेवी मावि मतदानस्थलबाट मतपेटिका सदरमुकाम ल्याउने क्रममा असहज भएको कर्मचारीको गुनासो छ । रातको समयमा खुला आकाशमुनि टिपरको डालीमा राखेर मतपेटिका र मतदानका कर्मचारीलाई करिब चार घन्टाको बाटो सदरमुकाम ल्याइने भएपछि ज्यादै कष्ट खेप्नुपरेको कर्मचारीले गुनासो गरेका छन् ।

६० प्रतिशत मत खस्यो

इलाम क्षेत्र २ को वैशाख १५ गते (शनिबार) भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसक्दा ६० प्रतिशत मत खसेको देखिएको जनाएको छ ।  यो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ ।  मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले अहिलेसम्म सबै केन्द्रबाट आएको विवरणमा ६० प्रतिशत मत खसेको बताउनुभयो । ‘प्रहरीको रिपोर्ट र मतदानस्थलका कर्मचारीले टिपाएको विवरणका आधारमा यो तथ्यांक आएको छ,’ उहाँले भन्नुभयो, ‘यो नै अहिलेसम्मको फाइनल तथ्यांक हो ।’ इलामका ७९ मतदानस्थलका एक सय ४९ वटै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण ढङ्गमा निर्वाचन सम्पन्न भएको इन्सेक निर्वाचन पर्यवेक्षणका क्रममा पाइएको छ ।

तस्विरमा निर्वाचन र निर्वाचन पर्यवेक्षण

photo 20240427 ilam (1)

photo 20240427 ilam (2)

photo 20240427 ilam (3)

photo 20240427 ilam (4)

photo 20240427 ilam (5)

photo 20240427 ilam (6)

photo 20240427 ilam (7)

photo 20240427 ilam (8)

photo 20240427 ilam (9)

photo 20240427 ilam (10)

photo 20240427 ilam (11)

photo 20240427 ilam (12)

photo 20240427 ilam (13)

photo 20240427 ilam (14)

photo 20240427 ilam (15)

photo 20240427 ilam (16)

photo 20240427 ilam (17)

photo 20240427 ilam (18)

photo 20240427 ilam (19)

photo 20240427 ilam (20)

photo 20240427 ilam (21)

 


मनोज अधिकारी