उपनिर्वाचनको आचारसंहिता चैत २८ गतेदेखि लागू (आचारसंहिता सहित)

  २०८० चैत २८

आगामी वैशाख १५ गते तोकिएको उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ ।  इलाम क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (१) मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त बनाउन चैत २८ गतेदेखि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता २०८० चैत २८ गतेदेखि मतदान सम्पन्न नहुन्जेलसम्म लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए । मतदान कार्यक्रम ०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्धारण गरिएको छ ।

२०७९ मङ्सिर ४ गते सम्पन्न आम निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको भदौ २५ गते राति निधन भएपछि र बझाङ क्षेत्र नम्बर १ (१) बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते गाडी दुर्घटनामा निधन भएपछि रिक्त भएका स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

इलाममा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र गरी २० जना तथा बझाङमा १२ राजनीतिक दलबाट १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । सबै उम्मेदवारहरुलाई चैत २७ गते निर्वाचन चिह्न वितरण गरिएको थियो ।

चैत २८ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएकाले इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ (१) मा कुनै सार्वजनिक स्रोत, साधन र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न पाइने छैन । सरकारी वा सार्वजनिक संस्था वा शैक्षिक संस्था प्रयोग गरेर निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न पनि पाइने छैन ।

निर्वाचन आचारसंहिता हेर्न यहाँ क्लिक गर्नु होला


अनलाइन डेस्क