उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य

नेपालको संविधानले धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको ब्याख्या एमव् व्यवस्था गरेको छ ।

सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था छ ।

तर, माई नगरपालिका-१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य हुनु परेको छ ।

अस्पताललाई बुझाउने पैसा नभएपछि उहाँ छ महिनायता चितवनको एक अस्पतालमा ‘बन्धक’झैं बन्नु भएको छ ।

बिनासुनुवाई भारतीय जेलमा ४० वर्ष बिताएपछि घर ल्याइएका दुर्गाप्रसाद उपचारको रकम तिर्न नसक्दा अस्पतालमै अलपत्र पर्नु परेको हो ।

भारतीय जेलबाट ल्याइएपछि गत वर्ष उहाँलाई परिवारले चितवनको खैरहनी नगरपालिका-११ स्थित ब्यूटीफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्री लगेको थियो । छ महिनाअघि नै उहाँको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताएपनि घर ल्याउन नसकिएको परिवारजनले गुनासो गरेका छन् ।

दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले छ महिनाअघि नै ठूलोबुबा (दुर्गाप्रसाद) लाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिएपनि आर्थिक अभावले अस्पतालमै राख्नुपरेको बताउनु भयो । ‘ठूलोबुबाको उपचारमा त्यहाँ ७ लाख १५ हजार रुपियाँ खर्च भएको थियो,’ गोपालले भन्नुभयो, ‘३ लाख रुपियाँ त बुझायौँ, बाँकी ४ लाख १५ हजार रुपियाँ नहुँदा ठूलोबुबा अस्पतालमै बन्धकझैं हुनुभएको छ । पैसा नतिरी उहाँलाई अस्पतालबाट ल्याउन सकिँदैन ।’

गोपालले दुर्गाप्रसादको थप उपचारका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट प्रस्ताव आइरहेपनि अहिले राखिएको अस्पतालबाट निकाल्न नसकिएको बताउनु भयो । ‘अस्पतालमा छ महिनाअघि नै ४ लाख १५ हजार रुपियाँ बाँकी थियो, अहिले हिसाब–कति पुग्यो थाहा छैन, अस्पतालले बारम्बार फोन गरिरहेको छ,’ गोपालले इन्सेक प्रतिनिधिसँग भन्नुभयो । ‘ठूलोबुबालाई भारतीय हाइकोर्टको आदेशअनुसार दिइएको रकम पनि यसअघिकै उपचारमा धेरै खर्च भइसकेको छ ।’ थप उपचारका लागि इलामस्थित मानवअधिकार मञ्चले समेत दुर्गाप्रसादलाई अस्पतालसम्म लैजान सहयोग गरेको तर अहिले रकम नहुँदा अस्पतालबाट निकाल्न नसकिएको गोपालले बताउनु भयो ।

ब्यूटीफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रीका अध्यक्ष डाक्टर गिरिराज भन्टानाले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको बताउनु भयो । ‘दुर्गाप्रसादमा देखिएको रोग सिजिफोर्नियाँ हो,’ डाक्टर भन्टानाले भन्नुभयो, ‘शतप्रतिशत निको भएको त होइन तर उहाँमा जति सुधार हुनुपर्ने हो, त्यति भइसकेको छ ।’ उहाँले दुर्गाप्रसाद अब पहिलाभन्दा सामान्य जीवन बिताउनसक्ने र अरूले भनेको काम गर्नसक्ने भएको बताउनुभयो ।

‘ठूलोबुबाको उपचारमा त्यहाँ ७ लाख १५ हजार रुपियाँ खर्च भएको थियो,’ गोपालले भन्नुभयो, ‘३ लाख रुपियाँ त बुझायौँं, बाँकी ४ लाख १५ हजार रुपियाँ नहुँदा ठूलोबुबा अस्पतालमै बन्धकझैं हुनु भएको छ । पैसा नतिरी उहाँलाई अस्पतालबाट ल्याउन सकिँदैन ।’

‘अस्पतालले दुर्गाप्रसादलाई डिस्चार्ज गर्न अनुरोध गरेको लामो समय भइसक्यो, परिवारजन सम्पर्कमा हुनुहुन्न,’ डाक्टर भन्टानाले भन्नुभयोे, ‘हामीले सकेसम्म सहुलियतमा उपचार गरेका छौं, अहिले पनि अस्पतालले विभिन्न सुविधामा खर्च छुट दिएरै उहाँलाई राखेको छ, परिवारजनले उहाँलाई घर लैजानुु राम्रो हुन्छ ।’ आफू कार्यालयबाहिर रहेकाले अहिले कति रकम दुर्गाप्रसाद अस्पतालबाट डिस्चार्ज हुन्छन् भन्ने चाहिँ यकिन गर्न नसकेको डाक्टर भन्टानाले बताउनु भयो ।

दुर्गाप्रसादका भतिजा गोपालले जेलबाट छुटेर आएपछि दुर्गाप्रसादमा मानसिक समस्या देखिएकाले विराटनगरमासमेत १७ दिन उपचार गरिएको बताउनु भयो । ‘विराटनगरमा गरिएको उपचारले समेत निको नभएपछि चितवन लगिएको हो,’ उहाँले भन्नुभयो, ‘अहिले चाहिँ निको भइसकेको बिरामीलाई अस्पतालबाट निकाल्न सकिएको छैन ।’

दुर्गाप्रसादलाई ०७७ चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो । दुर्गाप्रसाद २० वर्षे उमेर छँदा ०३७ साल माघमा घर छाडी बेपत्ता हुनुभएको थियो । घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल पर्नुभएका उहाँ ०७७ फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा फेला पर्नुभयो । विभिन्न संघ-संस्थाको पहलमा उहाँलाई ०७७ चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो । अहिले उहाँकी आमाको मृत्यु भइसकेको छ ।

सन् १९८१ मै जेल परेका दुर्गाप्रसादको मुद्दामा चार दशकसम्म कुनै सुनुवाई भएन । यसरी लामो समय जेलमै कोचिएको थाहा पाएपछि कोलकाता हाइकोर्टले महावाणिज्य दूतावासमार्फत् छ-छ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनेगरी ०७७ चैत ७ मा रिहा गरेको थियो । चिकित्सकले उहाँको नौ वर्ष नौ महिनाको बालकको जस्तो बोली-व्यवहारमात्र गर्नसक्ने रिपोर्ट दिएका थिए । जेलबाट छुटेपछि दुर्गाप्रसादले आफूले हत्या गरेको नभई कसैले फसाएको बताउनु भएको थियो ।

एकतप्पा गाउँ पञ्चायत-८, खँगुवा (हाल फाकफोकथुम गाउँपालिका) घर भएकै बेला दुर्गाप्रसाद मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न भनी हिँड्नु भएको रहेछ । त्यसयता बेपत्ता उहाँ जिउँदै छन् या छैनन् भन्ने नै परिवारजनलाई थाहा थिएन । घरबाट हिँडेपछि दार्जिलिङमा रोजगारी गरिरहेको अपुष्ट खबर आएको थियो । तर, दार्जिलिङमा त्यतिबेला गोर्खाल्यान्ड आन्दोलन चलिरहेकाले त्यहीं उहाँको मृत्यु भएको अनुमान परिवारलाई थियो । परिवारजन पनि बसाइँ सरेर लुम्बाक गए ।

भारतीय जेलबाट ल्याइएपछि गतवर्ष उहाँलाई परिवारले चितवनको खैरहनी नगरपालिका-११ स्थित ब्यूटीफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्री लगेको थियो । ०६७ सालतिर दुर्गाप्रसादसँगै जेलमा बसेका भारतीय नागरिक राधेश्याम दासले आफू पुनः अर्को मुद्दामा ०७७ सालतिर जेल पुग्दा दुर्गाप्रसादलाई पहिलाकै हालतमा भेट्टाउनु भएको बताउनु भयो । त्यसपछि उहाँले भारतकै वेस्ट बङ्गाल रेडियो क्लबमा दुर्गाप्रसादको अवस्थाबारे खबर गर्नुभयो । यस्तो खबर आएपछि रेडियोले नेपालका विभिन्न संयन्त्रसँग उहाँको वास्तविक ठेगानाबारे सूचना लिने प्रयास गरेको थियो । जेल र अदालती कागजमा ‘दीपक जोशी’ नाम उल्लेख भएका दुर्गाप्रसादको वास्तविक नाम, ठेगाना र परिवार त्यसपछि पत्ता लागेको थियो ।

इलामस्थित जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गर्यो । कोशी प्रदेश सरकारले उहाँको केही उपचार निःशुल्क गरिदिएको थियो । उहाँको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन ५० हजार रुपियाँ नगद प्रदान गरेको थियो ।

उपचारपछि घर आउनुभएका दुर्गाप्रसादमा पुनः सामाजिकीकरणको समस्या दोहोरिएको थियो । लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बन्नु भएका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उहाँलाई उपचारमा लगिएको हो ।

कोलकातास्थित हाइकोर्टले उहाँलाई तत्कालका लागि पाँच लाख (भारु) क्षतिपूर्ति दिन आदेश गरेपछि महावाणिज्यदूत ईश्वरराज पौडेलले झापाको काँकरभिट्टासम्मै आएर क्षतिपूर्ति रकम हस्तान्तरणसमेत गर्नु भएको थियो ।

durga prasad timsina hospital
उपचार खर्च तिर्न नसक्दा चितवनको एक अस्पतालमा बस्न बाध्य दुर्गाप्रसाद ।

मनोज अधिकारी