उपचार खर्चको अभावमा अपाङ्गता जीवन कष्टकर

खाँदबारी नगरपालिका-९ स्थित प्रसिद्ध तीर्थस्थल मनकामना मन्दिर नजिकै ४० वर्षीय कुमार माझीले अपाङ्गता जीवन बिताएको ३२ वर्षभयो ।

Photo20180620Sankhuwasabha (1)

पर्शुराम माझी र चन्द्रकुमारी माझीको पहिलो सन्तान कुमार ८ वर्षको उमेरदेखि अपाङ्गता जीवन बिताइरहेका छन् । कुमारलाई अहिले खुवाउने, पियाउने र शौच गराउनेलगायत सबै काम अर्कैले गरिदिनु पर्छ ।

कुमारको बाल्यकाल

बाल्यकालमा कुमार अत्यन्तै चकचके थिए । चकचके मात्रै होइन बाठो र चलाख पनि थिए । ८ वर्षको उमेरसम्म उनी विद्यालय जान्थे । विदाको दिन साथीसँग बाख्रा गोठालो जान्थे । त्यति मात्रै होइन विदाको दिन अरूण नदीमा पौडी खेल्नु र माछा मार्नु उनीहरूको दैनिकी जस्तै थियो । विद्यालयमा सार्वजनिक होस या पर्व विदा परेमा खोला पौडि खेल्न पुगिहाल्थे । घरमा बाआमा काममा गएको समयमा भाइ र बहिनीको हेरचाह समेत गर्थे । घर सरसफाई र धाराबाट खानेपानी गाग्री भरि-भरि बोक्थे । बाआमाको अत्यन्तै प्रिय थिए कुमार ।

कुमार यसरी अपाङ्ग भए

पाँच जनाको माझी परिवारमा कुमारको भाइ र बहिनीसमेत थपिएका थिए । माझी परिवार नदीमा डुङ्गा चलाउने र खेतिकिसानी गर्दै परिवार पार्ल्र्दै आएका थिए । खेतबारीमा मलको लागि र आम्दानी पनि हुने भनेर गाईगोरू र बाख्रा समेत पालेका थिए । कुमार स्थानीय विद्यालयमा दुई कक्षामा पढ्दै थिए । २०४२ साल ताका हिउँदको बेला उनको छिमेकीसँग बाख्रा गोठालो गएका थिए । त्यो दिन उनीहरू दुई जना मात्रै गोठालो गएका थिए । बाख्रा लिएर बेलुकी घर फर्केपछि ज्वरो आउने र टाउको दुख्ने समस्याले चाप्यो । छिमेकी मामा र भाञ्जा कुमार दुवै जना सिकिस्त बिरामी परे । गाउँघरमा खोजतलास गरेर धामीझाँक्री, बिजुवा सबै लगाए । त्यति बेला प्रशस्त अस्पताल समेत खुलेका थिएनन् । कुमारसँगै गोठालो गएका छिमेकी मामाको त्यही राती नै मृत्यु भयो । कुमार भने अलिक सञ्चो भएपनि अपाङ्ग भएको कुमारकी आमा चन्द्रकुमारीले बताइन । 'सधैँ स्कुल विदाको दिन अरूण नदीको बगर तिर साथीहरूसँग गोठालो जान्थे, त्यो दिन एक्कासी बिरामी परेर घर फर्किए । मामा चाँहीको त्यही रात मृत्यु भयो । धन्न मेरो छोराको अनुहार हेर्न पाइरहेको छु यसैमा खुशी छु ।'-चन्द्रकुमारीले गहभरि आँसु पार्दै भनिन् ।

Photo20180620Sankhuwasabha (2)

निम्न बर्गीय पर्शुरामले छोरा अपाङ्ग भएपछि गाउँघरका धामी, झाँक्री र बिजुवा धेरै लगाए । कुखुरा र बोकाको बली धेरै चढाए तर पनि निको भएनन् । 'केही वर्षअघि जिल्ला अस्पताल खाँदबारीमा उपचारको लागि लगे । डक्टरले ठूलो शहरतिर उपचार गर्न लैजानु भनेर पठाए । लानु त हो नि ! आफूसँग पैसा छैन । हातमुख जोर्न धौधौ छ काँहाबाट छोराको उपचार गर्नु ?'-चन्द्रकुमारीले दुःखेसो पोख्दै भनिन्-'हाँसखेल गर्न र बाँच्न पाउने र सुखसुविधा भोग्ने सबै धनीमानी र साहुमाहजनले मात्रै रैछ । गरिबको दुःख सधै गरिबसँग नै हुँदो रैछ ।'

कुमारलाई नेपाल सरकारको अपाङ्गता भत्ता बापत मासिक २ हजार रुपियाँ पाउने गरेको भएपनि अहिले ६/७ महिनासम्म नदिएको चन्द्रकुमारीले बताइन् । उनले भनिन्-'अपाङ्ग छोरा पाल्नु पर्छ सरकारले दिने भत्ता महिनै पिच्छे दिए आफूहरूलाई राहत मिल्ने थियो । कहिले रोकिएको छ भन्छ, कहिले आइहाल्छ भन्छ । के कारणले रोकिएको हामी के बुझ्नु ? यहि भत्ताको भरका बाँचेका छौँ ।'-उनले थपिन्-'अरूको छोरा झै आफ्नो छोरा पनि सक्षम, बोल्न, हाँस्न र हिड्न सक्ने भइदिए हुने थियो जस्तो लाग्छ । के गर्नु भाग्य नै खोटो ?'


बाबुराम बास्तोला