उपचार अभावमा बालिकाको मुत्यु भएको आरोप, घटनाको छानविन गर्न समिति गठन

  ०७९ जेठ १९ गते

भागेश्वर गाउँपालिका–५ सिराडकी पाँच वर्षीया यनुसा थापा मगरको उपचार अभावमा जेठ १९ गते मृत्यु भएको आरोप मृतकका परिवारले लगाएपछि घटनाको छानविन गर्न समिति गठन गरिएको छ ।

जेठ १८ गते राति बिरामी भएकी बालिकालाई बिहान ५ बजेतिर उपचारका लागि डडेल्धुरा अस्पतालमा लगिएको भएपनि समयमै डाक्टर नआउँदा बालिकाको मृत्यु भएको मृतकका बुवा प्रकाश थापा मगरको आरोप छ ।

उपचारका लागि बालिकालाई अस्पतलमा पुर्याएको घण्टाैँ वितिसक्दा पनि डाक्टरहरु नआएपछि डडेल्धुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीलाई गुनासो गरी डाक्टरलाई चेकजाँचका लागि तत्काल पठाउन समेत आग्रह गरेको भएपनि डाक्टर समयमै नआइ दिदा बालिकाको मृत्यु भएको मृतकका बुवा थापाले बताउनु भयो ।

अस्पतालको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै अस्पताल विकास समितिका अध्यक्षको राजीनामा र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.चेतराज भट्टको सरुवा नभएसम्म अस्पतालबाट शब नउठाउने मृतका आफन्त राजेन्द्र थापा मगरले बताउनु भयो ।

आफ्ना मागहरु पुरा नभएसम्म शबको जिम्मा नलिने पीडित परिवारले अडान राखेपछि मृतक बालिकाको शब डडेल्लधुरा अस्पतालमा नै राखिएको छ ।

डडेल्धुरा अस्पताल प्रशासनले दुई / तीत दिनदेखि ज्वोरो र निमोनियाका कारण बालिकालाई स्वाश फेर्न अप्ठेरो भइरहको अवस्थामा ढिलोगरी अस्पतालमा ल्याइएको र बालिकालाई आइसियूमा राखेर उपचार गर्दा गर्दै मृत्यु भएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले अस्पतालका मेसु डाक्टर चेतराज भट्टको अध्यक्षतामा छानबिन समिति बनाइ ७२ घण्टा भित्र घटनाको अध्यायन तथा छानबिन गरी दोषी ठहर भएकाहरुलाई कानुनी कार्वाही गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनु भयो ।


भूपेन्द्र बिष्ट