उपचारका लागि सहयोग जुटाई दिन पीडित परिवारको अनुरोध

अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ घोघींदाहा भवानीपुरका ४७ वर्षीय उमाकान्त चौधरी १२ वर्षदेखि घर अगाडि बनेको कटेरोमा फलामको साङ्लोमा बाँधिएका छन् ।

सुस्त मनस्थितीका चौधरीले घर परिवार र समाजमा दुःख दिन थालेको भन्दै उनलाई २०६३ सालदेखि फलामे साङ्लोमा ताला लगाई बाँधेर राखिएको उनकी ४१ वर्षीया पत्नी सुशीलादेवी चौधरीले बताइन् ।

photo20181207saptari (1)

वस्तुभाउका दाम्लो चराउन लैजाने बेला खोलिन्छ तर उमाकान्त संविधानमा उल्लेखित सबै मौलिक हकबाट वञ्चित छन् । उनलाई राख्न घर अगाडि फोहोर बग्ने नालीमाथि बनाइएको कटेरोमा राखिएको खाली खाटमा दुई फिट लामो साङ्लोमा २४ सै घण्टा बाँधिएर राख्नाले चाहेर यताउता हिँड्न त के उभिन पनि सक्तैनन् ।

photo20181207saptari (2)

जाडो होस् वा गर्मी, उनको शरीरमा कट्टुबाहेक अन्य कपडा हुँदैन । ओढे पनि ओछ्याए पनि मयलले काती परेको एउटा सिरक छ । बसेकै ठाउँमा दिसापिसाब गर्छन् । साङ्लोको डाम हातमा गढेर घाउ नै भएको छ ।

परिवारका सदस्यले उपचार गराए, धामीझाँक्री पनि देखाए । तर, अस्पतालबाटै भाग्ने, औषधि नै नखाने भएपछि रोग बल्झिँदै गएको आमा पल्टीदेवी चौधरी बताउँछिन् ।

photo20181207saptari (3)

सामाजिक परम्पराअनुसार २०५४ सालमा विवाहित उमाकान्तका तीन छोरी छन् । घरमा पुरूष सदस्य अभिभावक नहुँदा निकै समस्या परेको जेठी छोरी १९ वर्षीया अस्मिता बताउँछिन् । लामो समय भएकाले उपचारमा निकै खर्च लाग्ने वडा अध्यक्ष सुशीलकुमार चौधरीको अनुमान छ ।

दिनरात मजदुरी गरेर परिवारको जिविकोपार्जन गरिरहेकी सुशीलादेवी भन्छिन्–‘उपचार गराउन आर्थिक समस्याका साथै तीन ओटी छोरीलाई घरमा छाडेर कसरी र कहाँ लैजाने भन्ने पनि समस्या छ ।’

photo20181207saptari (4)

‘जन्मेदेखि नै बुवालाई साङ्लोमा बाँधिएकै अवस्थामा देखेको बताउने कान्छी छोरी १३ वर्षीया दिपीका चौधरीले हात जोडिन्–‘बुवाको उपचारका लागि सहयोग जुटाइदिनुहोस् ।’


मनोहरकुमार पोखरेल