उपचारका क्रममा कैदीको मृत्यु

  ०८१ मङ्सिर २ गते

जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका कैदीको उपचारका क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

विराटनगर महानगरपालिका-८ घर भएका ५५ वर्षीय कैदी महानन्द राय अमातको ०८१ मङ्सिर २ गते उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको कारागारका जेलर चेतराज बरालले बताउनु भयो ।

दुवै गोडामा घाउ आएर पाकेपछि अमातलाई उपचारका लागि ०८१ कात्तिक २१ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । मधुमेह, उच्च रक्तचाप र मृगौलासम्बन्धी पुरानै समस्या रहेको अस्पतालको आइसीयूमा उपचाररत अमातको मृत्यु भएको जेलर बरालले बताउनु भयो ।

भाडा लिएर बसेको घर खाली गर्न नमानेको र भाडा नतिरेको भन्दै अमातविरुद्ध घरधनीले मुद्दा हालेका थिए । ‘घर भाडा दिलाइ घर खाली गराइ पाउँ’भन्ने शीर्षकको मुद्दामा जिल्ला अदालत मोरङले अमातलाई ०८१ असोज १३ गते दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

पीडित पक्षले मङ्सिर २ गते शव बुझी विराटनगर महानगरपालिका-८ स्थित सिघिंया घाटमा सद्गत गरेको छ ।


विनोद सुवेदी