उपचारका क्रममा एक थुनुवाको मृत्यु

  ०८१ भदौ २३ गते

मोरङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बेलबारी नगरपालिका-४ का ३४ वर्षीय मनिकुमार तामाङको उपचारका क्रममा भदौ २३ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

गोडा सुन्निने र मुटु सम्बन्धी समस्या भएका तामाङलाई उपचारका लागि ०८१ भदौ २० गते बेलुका कोशी अस्पताल भर्ना गरिएको र उपचारका क्रममा भदौ २३ गते मृत्यु भएको मोरङ कारागारका जेलर चेतराज बरालले बताउनु भयो ।

जिल्ला कारागार मोरङका जेलर चेतराज बरालले तामाङविरुद्ध पाँच ओटा मुद्दा जिल्ला अदालतमा मुद्दा चलिरहेको बताउनु भयो ।

मोरङ जिल्ला अदालतमा दर्ता भएको दुई ओटा मुद्दा मध्ये एउटा मुद्दामा चार महिना कैद र १५ हजार रुपियाँ र अर्को मुद्दामा १ लाख रुपियाँ धरौटी माग भएको थियो ।

धरौटीबापतको रकम बुझाउन नसकेपछि तामाङ २०८० माघ २१ गतेदेखि मोरङ कारागारमा थिए ।

मोटरसाइकल चोरीको आरोप लागेका तामाङविरुद्ध मोरङ, झापा, सुनसरी, इलाम र धनकुटामा चोरीको कसुरमा मुद्दा विचाराधीन रहेको कारागार प्रशासनले जनाएको छ ।

शव कोशी अस्पताल, विराटनगरको शव गृहमा राखिएको छ ।


विनोद सुवेदी