उद्योगबाट निस्कने खरानीयुक्त धुलोले प्रदुषण फैलिएको भन्दै स्थानीय धर्नामा

  ०८१ कात्तिक २६

देवचुली नगरपालिका–२ मा रहेको चौधरी उद्योगबाट निस्किएको धुलोले प्रदुषण फैलिएको भन्दै यसको नियन्त्रणको माग राख्दै स्थानीयले उद्योग परिसरमा कात्तिक २५ गते धर्ना दिएका छन् । उद्योग वरपरका स्थानीयले उद्योगबाट निस्कने कालो खरानीयुक्त कणहरूले प्रदुषण फैलिएको भन्दै उद्योग परिसरमा धर्ना दिएका हुन् ।

उद्योगमा इन्धन उत्पादनका लागि कच्चा पदार्थका रूपमा प्रयोग गरिने भुस डढेर कालो खरानीको रूपमा वरपर फैलिएर निक्कै समस्या भएपछि यसको नियन्त्रणको माग राखी धर्ना दिइएको देवचुली नगरपालिका–२ का वडा अध्यक्ष शरदप्रसाद घिमिरेले बताउनु भयो ।

उद्योगबाट उडेको खरानीले गर्दा वरपरका घरहरूमा बाहिर बस्न नसक्ने अवस्था भएको, खरानीको धुलोले खेतीबारीदेखि भान्सासम्म असर पारेकाले यसको नियन्त्रणको माग राखी आन्दोलनमा उत्रिनु परेको अध्यक्ष घिमिरेले बताउनु भयो ।

उद्योगबाट निस्केन कालो खरानीले असर पारेको विषय पटकपटक उद्योग प्रशासनलाई जानकारी गराउँदा समेत यसको नियन्त्रणमा बेवास्ता गरेपछि आफूहरू आन्दोलनमा उत्रिनु परेको उहाँले बताउनु भयो ।

photo20241111nawalpur (1)

‘बाहिर कपडा सुकाउन पाइँदैन । खरानीले ढाकेर कालै हुन्छ । घरको झ्याल खोलेर बस्न पाइँदैन । खरानीले घर भित्रपनि ढाकेको हुन्छ । स्वास्थ्यमा पनि उत्तिकै असर पारिरहेको छ ।–वडा अध्यक्ष घिमिरे भन्नु भयो–‘नियन्त्रणमा उद्योगले बेवास्ता गर्दा समस्या भएको छ ।’

उद्योगले स्थानीयको स्वास्थ्यमा खेलवाड गरेको स्थानीय भेषराज न्यौपानेले आरोप लगाउनु भयो । उद्योग परिसरमा धर्ना दिएका स्थानीयले कात्तिक २६ गते उद्योग प्रशासनलाई प्रदुषण नियन्त्रणका लागि ज्ञापनपत्र दिने र त्यसपछि पनि उद्योगले प्रदुषण नियन्त्रणमा चासो नदेखाए थप आन्दोलनमा उत्रिने बताएका छन् ।

उद्योगका महाप्रबन्धक रामकाजी सिटौलाले जनताको स्वास्थ्यका विषयमा उद्योगले खेलवाड नगर्ने बताउनु भएको छ । मेशिनरी र प्राविधिक विषय भएकाले विभिन्न समयमा समस्या देखिने बताउँदै प्रदुषण नियन्त्रणका लागि उद्योग लाग्ने उहाँको भनाइ छ ।

photo20241111nawalpur (2)


दयाराम आचार्य